
भवानी तिमल्सिना न्यौपाने
१.
गरेर पुजा अर्चना नवरात्रको नौ दिन वडादशैंमा
हटुन् क्लेश सारा आउन् मनमा विचार नवीन वडादशैंमा
सबैलाई दशै दशै बनोस् दसा नबनोस् छावोस् हर्ष उमंग
नबनोस् कोहि कसैको पनि मुहार मलिन वडादशैंमा ।
२.
बोकेर कमेरो दलेपछि घरमा रङ्ग दशै आए झै हुन्थ्यो
लागाउँदा नयाँ नाना परिन्थ्यो दङ्ग दशै आएझैँ हुन्थ्यो
ठुला देखि साना सम्म आशिर्वाद र जमरा लिइ
टीका थाप्दा हजुरबुबासँग दशै आए झै हुन्थ्यो ।
हेटौँडा- ५ मकवानपुर

मिना पौडेल
पैसा हुनेले नै मीठो खान्छ राम्रो लाउँछ दसैं आउँदा
रमाइलो गर्छ जुवा तास खेल्न धाउँछ दसैं आउँदा
पैसा र आफन्त नहुनेलाई चाड पर्व नआएकै जाती
हेर्नुहोस् दुखीलाई भने दुःख नै आउँछ दसैं आउँदा।।
निकासी, बाक्सा, असम भारत

रस्मी भट्ट
दशैं कसैलाई खुशी ,कसैलाई दशा नबनोस्
कसैलाई चोट र ऑशु ,कसैलाई मजा नबनोस्
चाड पर्व आफ्नो सामर्थ्य अनुसार मनाउनुपर्छ
मनाउने निहुॅमा ,आडम्वरी र भद्धा नबनोस् ।
गाेरखा हाल अमेरिका

वृन्दा ढुंगाना
वर्ष दिनमा एकचोटी जमिन छोड्नु रे भन्छन्
परम्परा मान्दै पिङ सङ्ग नाता जोड्नु रे भन्छन्
केटाकेटीहरु जस्तै रमाइलो गर्ने रहर जागेर आउँदा
दु:ख पीडा बिर्सिँदै पर्वमा मन मोड्नु रे भन्छन्।
काठमाडाैं

मात्रिका घिमिरे
१.
चाडबाडमा हौसिएर कोही पनि, ह्वात्तै जाग्नु हुदैन
अरुको देखासिकीमा धेरै , फूर्किएर लाग्नु हुदैन
ढोल बजाई आउँछ दशैं,ऋण बोकाई जान्छ भन्छन्
घिउ खानलाई कसैसँग, ऋण पनि धेरै माग्नु हुदैन ।
२.
छोराछोरी विदेशमा छन्, आमा बुवा रुँदै गर्छन्
कहिले आउलान् भन्दै बाटो, हेर्दै प्यासी हुँदै गर्छन्
धेरै दशैं आउछन् जान्छन्, परदेशीको पत्तो हुन्न
कति बर्ष पर्खी बस्दै, आँशुले मुख धुँदै गर्छन् ।
काठमाडाैं

रुकु धिताल न्यौपाने
नआउन् फर्किएर ती बिताएका तिता कहरहरु यही कामना
हाँसो खुसीले जगमगाउन अबका पहरहरु यही कामना
नवदुर्गाको कृपादृष्टिले रोग शोक , पीडा मुक्तहोस् घरघरमा
बडादशैंको शुभकामना भन्दै मुस्काउन् रहरहरु यही कामना ।
काठमाडाैं

