मीना चौलागाईं
जिन्दगीले आँधीहुरी छल्न नसकेको
धेरै भयो मनको दीप बल्न नसकेको ।
स्वाभिमानीहरूलाई चिन्ता सधैँ देशको
भ्रष्टाचारी शासन सत्ता ढल्न नसकेको ।
पत्थरबाहेक केही होइन भगवानको रूप
दीन दु:खी देख्दा पनि गल्न नसकेको ।
निमोठ्दैछन् ब्वाँसाहरू आफ्नै छोरी चेली
किन होला पापीको मन जल्न नसकेको ।
बाँकी केही छैन अब देख्न सुन्नलाई पनि
एउटा कमजोर मुटु छ बदल्न नसकेको ।
पाँचखाल, काभ्रे

