धनु शर्मा
रुन त म एक्लै सक्छु भेटमा हाँसौँला
बिर्सिएर सारा बैगुन माया गाँसौँला
फुर्सदमा सम्झिदिनु तिमीले पनि थोरै
तिम्रै खुसी सजाएर एक्लै बाँचौँला ।
रमाणपत्र उस्तै मेरा तिरेकै छु कर
मरिमेटी ज्ञानै बाड्छु बनाउन डाक्टर
बजेट भाषण भत्ता पाेसाक समेट्दैन मलाई
चक डस्टरमै जुनी बित्छ म को हुँ त सरकार ।
ढुकढुकी हौ हृदयको नयनको तारा
किन छैनौँ हामीसँगै तिमी देख्छु सारा
त्यता दुखे यता रुन्छु ख्याल गर्नु राम्रो
धैर्य गर्नु भेटेपछि मन खोलौँला प्यारा ।
सारेको कदम पछाडि, नाता ताेड भनेरै हाे
भुलेर विगत सारा, उतै मुटु जोड भनेरै हो
न घाम छेक्ने न पानी ओत्ने सुकेको डाली
वर पिपल चौतारी रोजी, छोड भनेरै हो ।
दुखिरहने यो मन बरु फेर्न पाए हुन्थ्यो
छातिभित्र लुकेको घाउ हेर्न पाए हुन्थ्यो
बगरकाे माछीसरि तड्पिरहनु भन्दा बरु,
उसका यादका बाटाहरु घेर्न पाए हुन्थ्यो।
पाेखरा

