- सविता के.सी.
ऊ आयो अनि सोध्यो “के तिमी आफूलाई बेच्दै छौ ?” उनले भनिन् “हो बेच्दै छु ।” “अनि मूल्य त निकै राखेकी रहिछ्यौ त !” उसले भन्यो ।”तिमीले मलाई मासु खान राखिएका राँगा, बोका, सुँगुर, ब्रोइलर कुखुरा सोच्यौ कि कसो? मासु मोलमा भाउ राख्न ?” उनी कड्केर बोलिन् ।
उसले अनकनाउँदै भन्यो “हैन । फेरि पनि !”उनले भनिन् “मैले मेरो इमान्दारिता, मेरो स्वाभिमान, इज्जत मेरो सत्यता विक्री गरेर खुसी किन्न खोजेको हो ।” “इमान्दारिता बेचेपनि पुग्छ खुसीका लागि । इमान्दारिता बेचेपछि स्वभिमान, सत्यता, इज्जत अपाङ्ग हुन्छन् । त्यसैले सबैलाई एकमुष्ट बेच्ने योजना छ । अनि त्यसले खुसी किनेर आरामको जीवन जिउने रहर छ । सक्नुहुन्छ किनेर देखाउनु होइन भने मेरो भाउ मेरो मूल्यमा दख्खल नदिनु ।” उनले कड्किएरै भनिन् ।
ऊ केही नबोली जुरुक्क उठेर गयाे । उनी आफ्नो चिन्तित अनुहार लिएर भित्र पसिन् ।
बझाङ

