लक्ष्मी आचार्य
सडकका पेटीमा,
चोक अनि गल्लीहरूमा
भौँतारिईरहेछ पूनर्जीवन खोज्नलाई
एक जिउँदो आत्मा।।
वसन्तमा पनि पालुवा पलाएन
सायद, धरामै रहेर पनि सुकेका छन्
उसका जिन्दगीका जराहरू
बिना मल बिना जल ।।
हज्जारौँ सपनाको प्यासमा
तिर्खाएको छ जिउँदो आत्मा
उडेको छ जहाजसरी
आफूलाई आकाशमा उडाउँदै
र रमाउँदैछ काल्पनिक उडानको संसारमा ।।
गिज्याईरहेछ हिमालले
पहाडका टाकुराहरूले अनि
तराईका समतल फाँटहरूले
फूलले अनि पातले ,शितल जूनेली रातले ।।
कहिले भर्याङ्ग चढाउँछ आफूलाई
संभावना रहित जिन्दगीको
कहिले पुर्याउँछ आफूलाई भट्टीमा
आँखामा हिमालको चस्मा लगाई हेर्छ संसारलाई
मात्र उसको सामु बोत्तलले शिर निहुराइरहन्छ ।।
सोच्छ, जिन्दगी कुहिरोभित्रको काग भयो
मजाकमा छापिएको अखबारको
शीर्षक भयो जिन्दगी
अजङ्गको भीर भयो जिन्दगी
मुहानबिनाको तीर भयो जिन्दगी
गन्तव्य खोज्दाखोज्दै थकित छ जिउँदो आत्मा
आखिर शिर निहुराएर झुक्दै
साथ दिने त बोत्तल मात्र रहेछ ।
विराटनगर

