- सीता रेग्मी
“दिउँसो तलको सटरकोठा हेर्न मान्छे आएको थियो, मन पराएर गु’को छ।” बेलुका घर फर्केका श्रीमान् लाई गिताले सुनाईन्।
“अनि भाडाको कुरा गरिनौँ ?” श्रीमानले सोधे।
“गरेँ, तपाईँले भने जति नै भन्दिएँ, हुन्छ भनेको छ।” श्रीमतीको कुरा सुनेर उनी केहीबेर शान्त रहे।
उनको कोठा अलि ठूलो र फराकिलो थियो त्यसैले उनले वल्लो पल्लो घरको भन्दा भाडा पनि अलि बढी नै तोकेका थिए।
“खाली राखेर नि के गर्नु पैसा पनि भने जति दिने भएछ, सानो तिनो खर्च टर्छ महँगीको जमाना छ।” उनी बिस्तारै बोले।
गिताले हुन्छ भन्ने बुझिन् र सोधिन्, “हुन्छ भन्दिउँ त?”
“के गर्ने रहेछन्?” श्रीमानले अर्को प्रश्न राखे।
“कपडाको होलसेल पसल गर्ने रे।” गिताले सिधा उत्तर दिईन्।
“अनि मान्छे चाहिँ कस्ता छन्?” उनले फेरि अर्को प्रश्न सोधे।
“मान्छे त हँसिलो, उज्यालो अनुहार परेको हेर्दा निकै राम्रो बोलीचाली पनि उत्तिकै मिठो, उमेर पनि तपाईँको भन्दा अझै कम हो जस्तो लाग्थ्यो……..।”
उनी अझै बोल्दैथिईन् श्रीमान् ले बीचैमा रोके अनि अलि ठूलो स्वरमा भने, “हुँदैन भन्देउ! बरु अलि पछि आफै पसल गरौला!”
सुन्दरहरैचा मोरङ

