- जुनु खड्का
समय अनुकूलको क्रान्तिले
नयाँ मोड ल्याउँछ
आमूल परिवर्तनको ढोका खोल्छ
क्रान्तिले एकातिर शान्ति
अर्कोतिर द्वन्द्व ल्याउन सक्छ
निचोड राम्रो भए सफलताको
ढोका उघार्न सक्छ ;
समयको चक्रमा
अहिले मृत्यु क्रान्ति चलिरहेको छ
मृत्यु जित्न हरेकले
आफ्नो शरीरसँग लड्दै
क्रान्तिमा उत्रिन बाध्य छन्।
सडकको बिचमा बोलेको टायरको
कालो निलो धुवाँको मुस्लो
जस्तै ज्वालाका मुस्लाहरु मडारिँदै
जोतिँदै ,परेड खेल्दा
शरीरका इन्द्रीय थकित भयभीत छन्
पहिलो प्रहरबाट ढलाउने दाउमा
शिरमै बज्रको चोट परे झैं छ चोट
जून चोटले दाहिने गिदी देब्रे
देब्रे गिदी दाहिने भएर
मृत्यु नजिकै देखिन्छ
त्यही मृत्युलाई जित्न
शरीरका स्नायु जोतेर अहिले
मानिस मृत्यु जित्ने क्रान्ति गर्दै छ।
नयाँ पुराना सबै इन्जिनहरुमा
धुवाँको कालो धब्बाले घेर्न खोजे झैं
मानव बस्तीमा सियो बनेर पस्ने
अनि सबैलाई मृत्युको धागोमा उन्ने क्रम छ
कुन बेला कुन समयमा सियोको तीखो
भागले शरीर छेड्ने हो पत्तो छैन
दुखेको आत्मा र भोको पेट
छरपस्ट हुँदैछ
कामबिनाको माम नहुँदा
भोकहरूको अर्को महामारी चल्दैछ
यस्तो कठिनाइसँग जुधेर मानिस
सकुशल रहन परस्परमा भेट नहुने,
आफ्ना पीडालाई दबाएर केबल
बाँच्न कै लागि मानिस क्रान्ति गर्दै छ।
हो ,साँच्चिकै मानिस मक्स, सेनिटाइजर
र भौतिक दुरी लिएर मृत्यु जित्ने
क्रान्ति गर्दै छ
शुक्लागण्डकी तनहुँ

