- त्रिपुरा’ पोखरेल’ खरेल
आज एउटा लघुकथा लेख्नैपर्छ। कलम ,कपी लिएर कौशीमा जान्छु । मस्तिष्कमा कथाहरू ढुँडी लागिसके छन् । कुन चाहिँ कथा लेख्नु अन्योलमा पर्छु ।
“कुकुरको साबुन छैन, किन नल्याएको? ” मुकेशको स्वरमा अलिकति झर्को मुछिएको पाउँछु । कथाको प्रसङ्ग टुट्छ। अर्को कथा सोच्ने आँट गर्छु । बाहिरको वातावरण हल्लामय छ । एउटा चर्को नारी आवाज सुन्छु,”पाल्न र माया गर्न नसक्नेले किन बिहे गर्नु।” एउटा पुरुषको ठूलो स्वरले नारी स्वरलाई दबाउने कोशिश गर्छ, “तँ आइमाई नकरा, मेरो लाखौं रूपियाँ माइती ओसारेर भाइबहिनी पोसेको बिर्सिस् ? ”
लेख्न छोडेर बाहिर दृष्टि दिन्छु पैंतालीसदेखि पचास वर्षका बूढाबूढीको झगडा, पढ्ने समयमा तन्नेरी छोरो मूकदर्शक बन्न वाध्य छ । बाबुआमा दिनरात झगडा गर्छन्, यस्तो वातावरणमा हुर्केको उसले भविष्य निर्माण गर्छ कि ध्वस्त पार्छ उसैलाई थाहा छैन । म फेरि लेख्न बस्छु।
मोबाइलको घण्टी बज्छ,उठाउँछु। उताबाट मातेको मान्छेको आवाज आउँछ,”तपाईंको गाडीमा ड्राइभर रहेनछ मलाई राख्नुस्, मेरो गाडी सालोले बेचिदियो , फेरि मेरै घरमा आएर मलाई धमास दिएर त्यसकी दिदी पनि लिएर गयो। “मनमनै काखी बजाएँ” मोरो ! राति अबेरसम्म भट्टीमा रक्सी धोक्छ। घरको संघारमा खुट्टा टेक्ने बित्तिकै भाँडभैलो मच्चाएर स्वास्नी कुट्छ, धन्न माइतीले लगेछन्। ” चारबजे पछाडि आउनु अहिले म व्यस्त छु।” उसलाई पन्छाउने कोशिस गरें।
मेरो कथामा पुरुष पात्रहरूको पुरुषत्वको अहम् थपियो। मुकेश , बीच बाटोमा झगडा गर्ने बेकामे लोग्ने, स्वास्नीसित झगडा गरेर छुट्टै बस्ने मत्तु ड्राइभर ….. आदि । यीमध्ये कसलाई कथामा स्थान दिउँ? मभित्र प्रश्नवाचक चिह्न तेर्सियो।
“अलिकति पर सर त घाम ताप्नुपर्यो ।” मेरै ठाउँ रोज्ने पुरुषको आवाज मेरो पतिको थियो।
सिक्किम

