- विन्दामाया तामाङ
असल जनतालाई ठाउँ नै नहुने जन्म थलोको के काम ?
झनै अब हसिँया हतौडा रुख अनि हलोको के काम?
ठिक्क हुँदा हुँदै खडेरीले हाहाकार मच्चाउन थाले पछी,
कठै प्रकाश राजा सुर्य भगवानको भलोको के काम?
सुनौलो रङ्ग सुनैको गजुर भन्न पनि सकिन ।
हेरी मयुरका प्वाँख मजुर भन्न पनि सकिन ।
उनको त्यो शब्ददेखि यत्ती लजाए नि म ,
सानू भनी बोलाउँदा हजुर भन्न पनि सकिन ।
उत्तरपुस्तिका नै कच्याककुचुक किच्न थालेपछि
घरी – घरी त्यही मोबाइल फोन थिच्न थालेपछि
यो पाराले के प्रगति होला र खै ? अब मेरो पनि
पढ्ने लेख्ने समयमा फोटो खिच्न थालेपछि ।
जिन्दगीमा थोरै खुशी तर धेरै उदास हुँदै छ हिजोआज
अश्रु धारासङ्गै मन्द मुस्कानको बास हुँदै छ हिजोआज
समय र ज्ञानको अभाव बीच रचित मेरा रचनाहरु पनि
सबैको मन – मनमा परुन भन्ने आस हुँदै छ हिजोआज ।
शहर,बजार छोडी फेरि गाउँतिरै लाग्ने बनायो ।
कहिँ कतै देख्नै हुन्न लुकिछिपी भाग्ने बनायो ।
आफू त दिनभरी कमाएर बेलुका खाने मान्छे ,
कमाउनै दिएन कोरोनाले साँच्चै माग्ने बनायो ।
चिसङ्खुगढी – ७,ओखलढुंगा

