आँखाका नानी नै पुर्ने कालो रात
सुन्दर बस्तीको मुटु लतार्ने बाढी
त्यो विपदको चित्कार …!
मान्छेको छाती कोपर्ने महामारीको धमिरा
त्यो मृत्युको ताण्डव नृत्य !
माटोको आत्मा चिर्ने शकुनीको प्रपञ्च !
कोपीलाको गुदो खोतल्ने
ती महिषासुरका बन्धुहरू !
शायद तिमी पनि रङ्गिएका छौ
हिटलरी विजयको रक्तीम लालीले
शायद असाध्यै तिर्खाएको छौ !
तर आजको रात म इनार बन्दिनँ …..
बिन्ती नखन तिम्रा कठोर बेल्चा र गैँतीले
मेरा सुख्खा तर उर्वर भूमि!
यो चार प्रहर रातपछि
एउटा ग्यानमुखे बुद्ध जन्माउनु छ ।
जब घामका कलिला लाली मुनाले
माटोको गाला सुम्सुम्याउने छ
प्रसबको उन्मादले म उफ्रिने छु ..जुर्मुराउँने छु
र जन्माउने छु सग्लो बुद्ध !
किनकि ,
कसम खाएकी छु मेरो माटोसँग
आत्मा नभएका मानिसहरूको भिडमा
धर्म हराएका बस्तीहरूको आँगनामा
न्याय हराएका स्वर्गका आसनहरूमा
स्नेह , शान्ति र संस्कार चापिएका खण्डहरूमा
ग्यान , शान्ति अहिंसा स्नेह र न्याय प्राप्तिका लागि
म जन्माउने छु बुद्ध !
र पठाउने छु उद्दार गर्न बाढी पीडितको
महामारी पीडितको
हिँसापीडितको…!
त्यसैले ,
वितण्डी खेलले
मेरो शान्ति नलुट
तिम्रो फोहरी चालले
मेरो बाटो नछेक
तिम्रो इर्ष्यालु साङलाले
मेरो गला नकस
तिम्रा स्वार्थ र तृष्णाको विषले मेरा वर्षौँदेखिका
स्वर्ण सपनाको बिभत्स हत्या नगर ।
तिम्रा तानाशाही साम्राज्यको शक्तिले
मेरो शक्तिको ढुकुटी नलुट !
मलाई प्रसबको सगरमाथा उक्लिन
शक्तिको आकाश चाहिन्छ !
तिमी त लत्रिएका जाई र जुही सँग पनि
तानाशाही शासन गर्ने हिटलर
बरु भोलि राति म आफै अाउँली तिम्रो बस्तीमा
तर आज म मेरो तपस्या मा छु
मलाई उषाको भुकभुकेमा बुद्ध जन्माउनु छ
मेरो मौनतामा हल्ला नपार
मेरो तपस्यामा बाधा नगर
मेरो पवित्र भूमिमा धावा नबोल !!
बुटवल

