सेमन्ता दाहाल
१.
खबर के छ तिम्रो भनी बुझिरहे सधैं
तिम्रै आदेश पालन गर्न कुदिरहे सधैं
पीडा दिएउ सधैं तड्पाई राखेउ मलाई
मैले भने देउता सम्झी पुजिरहे सधैं ।
२.
जिन्दगी कहिल्यै नचल्ने रहेछ कसैको आशमा
प्रगति र उन्नति पनि नभई नहुने रहेछ खासमा
आफू त कर्म र भाग्यकै दौडमा अल्झिरहे सधैं
पैसा र पद भए मात्र इज्जत रहेछ समाजमा ।
३.
जमिन छैन सडकमा अन्न फलेन
माइती जाऊ भने पनि गाडी चलेन
बन्द थपिँदै जाने भयो सधैंभरि
मेरो घरको आज बाट चुल्हो बलेन ।
४.
थाहै नदिई कस्तो खेल खेल्यौं प्रकृति
ध्वस्तै पारेऊ भए भरको सबै सम्पत्ति
जोगाई राखेको मठ मन्दिर पनि राखेनौ
सबै लुटी लग्यौ नेपालीको संस्कृति ।
५.
गरिबीको चित्कार यहाँ कसले सुन्ने
धन हुनेले सेवा गरे हुन्छ यहाँ पुन्ये
काम दाम केही छैन भयो सबै ठप्प
लाग्न थाल्यो भोकले मरिन्छ की भन्ने ।

