- राजु आचार्य ‘दीप’
१.
आँखै अगाडि भएको छ झेल आफन्तहरुको ।
विश्वास लाग्न छाड्यो अचेल आफन्तहरुको ।
आफू पनि हार्ने आफ्नाहरुलाई पनि हराउने
फष्टाउँदो छ यस्तै यस्तै खेल आफन्तहरुको ।
जा भन्न नसके नि अनुहारले त्यस्तै बताउँछ
लाग्छ मनमा महल पनि जेल आफन्तहरुको ।
आपतमा रमिता हेरी बस्नु दैनिकी बनिसक्यो
घाम जुन जस्तै भएको छ मेल आफन्तहरुको ।
एक छाक खाना पनि सित्तै खाएको छैन मैले
पैसा भने पछि हुरुक्क होटेल आफन्तहरुको ।
२.
लेख्न त लेखिएकै हो नियम कानुन कागजमा ।
पालना कम भएको छ नेपालीको ब्यबहारमा ।
विकासले विनाश निम्त्यायो सुन्न पाइरहन्छ
भय बोकेर उडिरहेकछन् चराहरु आकाशमा ।
गुन लगाएँ कसैलाई फूल दिएको छु कसैलाई
कैयौं पटक पत्थर पाएको छु यहाँ मैले जवाफमा ।
उमेर पुग्यो पढाइ सक्यो जवानी कसले बुझ्ने
रुझेको देखेको छु उनीलाई प्रायजसो बर्षातमा ।
धेरैखाले चुनावमा बिद्यार्थीले सघाएको बिर्सिए
स्वार्थी नेताहरु कहाँ जान्छन् खै आन्दोलनमा ।
इच्छाकामना -१,चितवन

