- जगन्नाथ सुवेदी
कहिलेकाँही कतै कतै सबै ऋतुहरुमा,
गमलाको घेरा नानाघिकन,
ओइलीरहेका सेतो फूलका ब्यथाले,
मन निस्सास्सिएर मरुभूमि हुन्छ
कोपिलाबाट फक्रिन नपाउदै,
आफ्नै मनको सारंगी धून
आँफैले पुरै सुन्न नभ्याउदै,
प्रपंचमा रंग खोसिएपछिकी सेतो फूलले,
अब होलीको याद गर्नै हुन्न रे ।
भमरा फेरिरहने नौरंगी बगैंचाले
उत्ताउली भईछेसको आरोपले डाम्नेछन्
पुर्णिमाको आकाश हेर्दै मुस्कुराउन हुन्न रे,
चन्द्रमामा पनि दाग देख्ने इर्ष्यालु आँखाहरुले
बचेको सेतो रङ्ग पनि हरणनै गरी छाड्नेछन् ।
फूलका पत्रहरुलाई झार्दै
काँडा र डाँठ फिँजार्दै ,
मन र मुटु बिना नै बाँचे झै गर्दै गर्दै
गमलामै जीवनको दशदान हुनै लाग्दा,
चिच्याउँदै स्वरहरु अन्तस्करणबाट उब्जन्छ,
फुटाउ सदियौँका गमला अनी उजाडिएको मुन्टो उठाउ,
बगैचा निर्माणको खातिर स्वाभिमानको सिन्दुर लगाउ ।
रचनाकालः २०५१

