मकवानपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा कालिका दैनिक र अनलाइनका सम्पादक शिशिर सिंखडामाथि भएको कुटपितको पत्रकार महासंघ बागमती प्रदेशले ध्यानाकर्षण जनाएको छ ।
समाचारको विषयलाई लिएर सिंखडामाथि कुटपिट गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण जनाएको प्रदेश महासचिव कृष्ण सारु मगरले विज्ञप्ति मार्फत जनाएका छन् ।
महासंघ चितवन शाखाका अनुसार कालिका नगरपालिकाका निर्वतमान मेयर खुमनारायण श्रेष्ठ (गोपी) र उनका पिए दीपक लामिछानेको विषयमा बिभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको समाचार सामग्रीलाई कालिका दैनिक अनलाइनले साउन ३१ गते मंगलबार साभार गरेको थियो । सोही निहुँमा नेकपा एमाले कालिका नगरपालिकाका उपाध्यक्ष समेत रहेका लामिछानेको नेतृत्वमा पत्रकार सिंखडामाथि कुटपिट भएको थियो।
“समाचारमा चित्त नवुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै पत्रकार सिंखडामाथि भएको हातपात घटना प्रेस स्वतन्त्रतामाथिको प्रहार हो” विज्ञप्तिमा भनिएको छ ।
दोषीलाई कडा कारवाही गर्न महासंघ बागमती प्रदेशले स्थानीय प्रशासन समक्ष अनुरोध गरेको छ । साथै स्वतन्त्र रुपमा पत्रकारिता गर्ने बाताबरण बनाउँदै शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरोकारवाला पक्षसँग पत्रकार महासंघ बागमती प्रदेशले माग गरेको छ ।

यसैगरी प्रेस चौतारी नेपालले पनि सिंखडामाथिको हातपातको भर्त्सना गरेको छ । संगठनको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज समेत रहेका सिंखडामाथि दुर्व्यवहार र हातपातको घटनाप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले आपत्ति प्रकट गरेको हो ।
समाचारमा चित्त नवुझे सम्बन्धित निकायमा उजुरी गर्ने व्यवस्था हुँदाहुँदै पत्रकार सिंखडामाथि आक्रमण गर्नु निन्दनीय भएको चौतारीको बागमती प्रदेश महासचिव प्रकाश दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा २ स्थित एक सहकारीको अध्यक्ष र कोषाध्यक्ष बचतकर्ताको रकम फिर्ता नगरेको कारण प्रहरीले नियन्त्रणमा लिएको छ ।
बचत कर्ताको रकम माग गरिएको समयमा फिर्ता नगरेको भन्दै बचतकर्ताको उजुरीपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडा– २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारीका संचालक समितका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय राजीव तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीका अनुसार दर्जनौ बचतकर्ताहरुले सहकारीको पासबुक सहित उजुरी दिएका थिए । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
हेटौंडा– १८ की कमला बिडारी,हेटौंडा– २ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी संचालकविरुद्ध २४ साउनमा संयुक्त जाहेरी दखास्त दिएका थिए । बचतकर्ताहरूले उजुरी गरेपछि प्रहरीले सहकारी संचालकलाई झिकाएको थियो । उजुरी परेपछि सहकारी संचालकले बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै २० साउनमा सटही हुने गरी सहकारीको कर्मचारीहरूको नाममा लाखौँ रकमको चेकसमेत काटेको थियो ।
सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक र देविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बाँनियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो ।
तर गएको २० साउनमा चेक सटही नभएपछि बचतकर्ताहरूले २४ साउनमा सहकारी संचालक समितिका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दरखास्त दिएका थिए ।
हिजो मङ्गलबार सहकारीका १० जना बचतकर्ताहरूले पुनः अध्यक्ष र कोषाध्यक्षविरुद्ध ठगी मुद्दामा जाहेरी दिएका छन् । सहकारीका थप बचतकर्ताहरुले अध्यक्ष र कोषाध्यक्षविरुद्ध आज पनि ठगी मुद्दामा जाहेरी दिने तयारी गरेको बुझिएको छ ।
हेटौंडा उपमहानगरपालिका भित्र सञ्चालित केही सहकारीहरुको अवस्था धेरै नाजुक भएको र आफूहरुले निगरानीलाई कडाइ गर्दै आएको हेटौंडा उपमहानगरपालिका सहकारी शाखाले जनाएको छ । “सहकारीको आर्थिक कारोवार सात्तो जानेखालको छ, हामीले नियन्त्रण गर्न सक्ने नै छैन, हामीलाई नै पनि आजित छौ” शाखाका एक कर्मचारीले भने । जनपत्रकाे सहयाेगमा
मकवानपुर । बागमती प्रदेश प्रहरीले डिजिटल चेकपोईन्ट निर्माण गर्ने भएको छ । प्रदेश प्रहरीले शान्ति सुरक्षा तथा अमनचयनलाई दीगो, फलदायि र प्रभावकारी बनाउन डिजिटल चेकपोईन्ट निर्माण गर्ने भएको हो ।
प्रहरीले यस आर्थिक वर्षमा गर्ने १०० वटा प्राथमिकताको कार्यक्रम सार्वजनिक गरेको छ । जसमा डिजिटल चेकपोईन्ट निर्माण गर्ने योजना सबैभन्दा उच्च प्राथमिकतामा रहेको प्रदेश प्रहरीले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयले निर्धारण गरेको अन्य प्राथमिकताका कार्यहरुमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनिकरण, मानवश्रोत एवम् प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र अन्य स्रोत साधन व्यवस्थापन, आर्थिक अनुशासन र पार्दर्शिता, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण मानव अधिकार संरक्षण र सम्बर्धन रहेको छ ।
यसैगरी प्रहरीले विपद् व्यवस्थापन र प्रतिकार्य, आन्तरिक सुपरिवेक्षण तथा गुनासो व्यवस्थापन, कर्मचारी उत्प्रेरणा तथा कल्याणकारी कार्यक्रम संचालन र विभिन्न नविनतमररचनात्मक कार्यक्रमको संचालन गर्ने भएको छ ।
उल्लेखित प्राथमिकतामा आधारित रहेर बागमती प्रदेशले बिभिन्न १ सय वटा क्रियाकलाप संचालन गर्ने बताईएको छ । जसमा सिसिटिभि जडान, हातहतियार बरामद तथा पक्राउ, घरेलु मदिरा नष्ट, संघीय निर्वाचन विशेष सुरक्षालगायतका क्रियाकलापहरु संचालन गरिने कार्यालयले जनाएको छ ।
त्यस्तै दुर्घटना न्युनिकरणका तथा सवारी व्यवस्थापनका लागि लागि रिफ्रेस सेन्टर निर्माण, सवारी साधनमा लेखिएको लेख रचना मेटाउने र तोकिएको क्षेत्रमा मात्र सवारी पार्किङ गर्ने ब्यवस्था मिलाउने कार्यालयको योजना रहेको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी साझेदारी समिति पुनर्गठन गर्ने, सचेतना कार्यक्रम, नागरिक सुनुवाई, विद्यार्थीसंग प्रहरी, व्यवस्थित नागरिक सहायता कक्ष, विभिन्न व्यक्तिसंग छलफल र अन्तकृया, मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्य लगायतका गतिविधि संचालन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०७९।०८० को “बार्षिक कार्ययोजना २०७९” मार्फत यस्ता योजनाहरु सार्वजनिक गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले बार्षिक कार्ययोजना सार्वजनिक गरेक गद्र्यै कुनै यि सबै काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बागमती प्रदेश प्रहरीको जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरुलाई प्रभावकारी बनाएर प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थीत र परिणाममुखी बनाउन बार्षिक कार्ययोजना तयार गरिएको प्रहरी नायव महानिरीक्षक बज्राचार्यले बताए ।
आर्थिक वर्ष २०७९।८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न १२ वटा प्राथमिकताका क्षेत्ररलक्ष्यहरु निर्धारण गरी १०० वटा क्रियाकलापरसूचकमा रही कार्य संचालन गर्ने बार्षिक कार्ययोजना २०७९ मा उल्लेख गरिएको छ ।
कार्ययोजना सार्वजनिक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले नवनिर्मित कार्ययोजनाको प्रमुख लक्ष्य नै बिगतमा कार्य सम्पादनको क्रममा देखीएका कमिकमजोरीलाई सुधार गर्दै प्रदेश प्रहरीको भुमिका र जिम्मेवारीलाई जवाफदेही, पारदर्शी र व्यवसायिक बनाउनुका साथै सेवा प्रवाहलाई प्रणालीबद्ध एवं निर्देशित तवरले संचालन गरी आफ्नो जिम्मेवारी क्षेत्रलाई शान्त र सुरक्षीत बनाउने रहेको बताए।
कार्ययोजना संगठन संचालनको मेरुदण्ड भएको बताउँदै उनले आम नागरिकले विश्वास र भरोसा गर्न योग्य प्रहरी निर्माणमा कार्ययोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
नेपाल प्रहरी संगठनको लक्ष्य प्राप्ती सामूहिक कार्यबाट मात्र सम्भव हुने बताउँदै बज्राचार्यले संवेदनशिल भई तोकिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । सम्पूर्ण प्रहरी कर्मचारीहरुले कार्ययोजना अध्ययन गरी मासिक, त्रैमासिक र अर्ध वार्षिक रुपमा चेक लिष्ट बनाई कार्य गर्नुपर्ने उनको भनाई रहेको छ ।
कार्ययोजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रदेश प्रहरी प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले पहिचान गरिएका प्राथमिकताका क्षेत्रहरू र त्यसले तोकेका गतिबिधिहरू तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका नगरवासीलाई आजबाट पिउने पानी नि:शुल्क उपलब्ध हुने भएकाे छ ।
हेटाैंडा उपमहानगरपालीकाले १० हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने भएकाे हाे । हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच गत २२ साउनमा भएकाे सम्झौता अनुसार आज १ भदाैबाट पानी नि:शुल्क प्रदन गरिने भएकाे हाे । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाका बिचमा संझौता भएको थियाे।
नगरवासीलाई १० हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने हेटाैंडा नगर देशकै पहिलो उपमहानगरपालिका हो । साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रही हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटर सम्म निःशुल्क रुपमा खानेपानी उपलब्ध गराउने निर्णय गरेको थियो ।
सम्झौता अनुसार बोर्डमार्फत वितरण भएको पानीको धारा जोडेका नगरवासी, समुदायिक विद्यालय र क्याम्पसले खानेपानीको न्यूनतम महशुल तिर्न नपर्ने भएको छ ।
सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरिरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५ रुपियाँ, सामुदायिक विद्यालयलाई प्रतिधारा अनमिटर ७ सय लिटर, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र सहरी सवास्थ्य केन्द्रलाई अनमिटर प्रतिधारा ७ सय रुपैयाँका दरले उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई महशुल रकम उपलब्ध गराउने छ ।
सहमति अनुसार खानेपानीको बिलिङ भएको महिनाको १० गतेभित्र महशुल रकम बुझाउनु पर्नेछ । सहमतिपत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईं, प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजयकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । गठबन्धनबाट निर्वाचित भएको ५ महिनालाग्दै गर्दा उपमहानगरकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँले चुनावी घोषणा पत्रअनुसार प्रतिबद्धता पूरा गरेका हुन् ।
उपमहानगरको २३ हजार ५ सय धारामा याे लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताएको छ । खानेपानीको न्युनतम महशुल निःशुल्क उपलब्ध गराए बापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक करिब २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने उपमेयर बानियाँले बताए ।
उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गरिरहेका नगरका उपभोक्ताहरुले खानेपानी बोर्डमा आवद्ध भएपछि उक्त सुविधा पाउने उपमहानगरपालिकाले जनाएको छ । उक्त सुविधा पाउनका लागि खानेपानी बोर्डमा आवद्ध हुन मेयर लामाले आह्वान गरेकी छन् ।
हेटाैडा उपमहानगरपालिकामा सामुदायिक धाराबाट पानी पिउनेकाे सङ्ख्या भने उपमहानगरले अध्याबधिक गरेकाे छैन । यसरी बाेर्डभन्दा बाहिरकाे पानी पिउनेकाे हकमा भने केही पछि निर्णय गरिने लामाले बताइन् ।
मकवानपुर – सामाजिक विकृति अन्त्य गर्न सुचना प्रणालीको सही व्यवस्थापन आवश्यक हुने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छिन् ।
सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न भुमिका खेल्ने उनले बताइन् । आज मकवानपुरको हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उनले बैदेशिक रोजगारका नाममा भईरहेको वेचविखन जस्ता आपराधिक कार्य रोकथाममा प्रणालीले सहयोग गर्ने बताईन ।
मानव वेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट-कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या रहेको भन्दै मन्त्री मोक्तानले सामाजिक-आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्ने बताइन् ।
असहाय बालबालिकाको एकिन तथ्यांक नहुँदा समस्या भएको भन्दै उनले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताइन् । तथ्यांक संकलनमा स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् । यसकार्यमा एकद्वार प्रणाली उचित हुने उनको सुझाव थियो।
कार्यक्रममा बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणाली सम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सुचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्माले सामाजिक सूचना व्यवस्थापन प्रणालीको परिचय, महत्व, उदेश्य, सूचकहरू, निर्माण प्रकृया, प्रगति अवस्था, अपेक्षाबारे जानकारी गराएका थिए । कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका गोपालप्रसाद कंडेलले बागमती प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको संरक्षण नीतिको ड्राफ तयार भएको र सक्दो चांडै क्याविनेटबाट पास गरिने जानकारी दिए । उक्त नीति निर्माणका लागि शान्ति फाउन्डेसन द्वारा संचालित हाम्रो सम्मान परियोजनाले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले बेचबिखन अन्त्यको लागि सामुहिक ऐक्यबद्धता आवश्यक भएको बताइन् । कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका गाउँपालिका तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा हाल संघीय सरकारले व्यवस्थापन गर्न लागेको सूचना व्यवस्थापनमा मानव बेचविखनको घटनालाई प्राथमिकता दिएर तथ्यांक संकलन गरिने बारे जानकारी गराईएको थियो । सामाजिक सूचना व्यवस्थापन प्रणालीमा हिंसा पिडित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूको पनि संकलन गरिने छ ।
अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको शान्ति फाउन्डेसनको सन्चार अधिकृत क्रान्ति तामाङलेबताइन् ।
