मकवानपुर । मकवानपुरको हेटौंडा २ स्थित एक सहकारीको अध्यक्ष र कोषाध्यक्ष बचतकर्ताको रकम फिर्ता नगरेको कारण प्रहरीले नियन्त्रणमा लिएको छ ।
बचत कर्ताको रकम माग गरिएको समयमा फिर्ता नगरेको भन्दै बचतकर्ताको उजुरीपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडा– २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारीका संचालक समितका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय राजीव तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीका अनुसार दर्जनौ बचतकर्ताहरुले सहकारीको पासबुक सहित उजुरी दिएका थिए । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
हेटौंडा– १८ की कमला बिडारी,हेटौंडा– २ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी संचालकविरुद्ध २४ साउनमा संयुक्त जाहेरी दखास्त दिएका थिए । बचतकर्ताहरूले उजुरी गरेपछि प्रहरीले सहकारी संचालकलाई झिकाएको थियो । उजुरी परेपछि सहकारी संचालकले बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै २० साउनमा सटही हुने गरी सहकारीको कर्मचारीहरूको नाममा लाखौँ रकमको चेकसमेत काटेको थियो ।
सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक र देविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बाँनियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो ।
तर गएको २० साउनमा चेक सटही नभएपछि बचतकर्ताहरूले २४ साउनमा सहकारी संचालक समितिका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दरखास्त दिएका थिए ।
हिजो मङ्गलबार सहकारीका १० जना बचतकर्ताहरूले पुनः अध्यक्ष र कोषाध्यक्षविरुद्ध ठगी मुद्दामा जाहेरी दिएका छन् । सहकारीका थप बचतकर्ताहरुले अध्यक्ष र कोषाध्यक्षविरुद्ध आज पनि ठगी मुद्दामा जाहेरी दिने तयारी गरेको बुझिएको छ ।
हेटौंडा उपमहानगरपालिका भित्र सञ्चालित केही सहकारीहरुको अवस्था धेरै नाजुक भएको र आफूहरुले निगरानीलाई कडाइ गर्दै आएको हेटौंडा उपमहानगरपालिका सहकारी शाखाले जनाएको छ । “सहकारीको आर्थिक कारोवार सात्तो जानेखालको छ, हामीले नियन्त्रण गर्न सक्ने नै छैन, हामीलाई नै पनि आजित छौ” शाखाका एक कर्मचारीले भने । जनपत्रकाे सहयाेगमा

