मकवानपुर । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका नगरवासीलाई आजबाट पिउने पानी नि:शुल्क उपलब्ध हुने भएकाे छ ।
हेटाैंडा उपमहानगरपालीकाले १० हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने भएकाे हाे । हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच गत २२ साउनमा भएकाे सम्झौता अनुसार आज १ भदाैबाट पानी नि:शुल्क प्रदन गरिने भएकाे हाे । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाका बिचमा संझौता भएको थियाे।
नगरवासीलाई १० हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने हेटाैंडा नगर देशकै पहिलो उपमहानगरपालिका हो । साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रही हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटर सम्म निःशुल्क रुपमा खानेपानी उपलब्ध गराउने निर्णय गरेको थियो ।
सम्झौता अनुसार बोर्डमार्फत वितरण भएको पानीको धारा जोडेका नगरवासी, समुदायिक विद्यालय र क्याम्पसले खानेपानीको न्यूनतम महशुल तिर्न नपर्ने भएको छ ।
सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरिरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५ रुपियाँ, सामुदायिक विद्यालयलाई प्रतिधारा अनमिटर ७ सय लिटर, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र सहरी सवास्थ्य केन्द्रलाई अनमिटर प्रतिधारा ७ सय रुपैयाँका दरले उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई महशुल रकम उपलब्ध गराउने छ ।
सहमति अनुसार खानेपानीको बिलिङ भएको महिनाको १० गतेभित्र महशुल रकम बुझाउनु पर्नेछ । सहमतिपत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईं, प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजयकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । गठबन्धनबाट निर्वाचित भएको ५ महिनालाग्दै गर्दा उपमहानगरकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँले चुनावी घोषणा पत्रअनुसार प्रतिबद्धता पूरा गरेका हुन् ।
उपमहानगरको २३ हजार ५ सय धारामा याे लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताएको छ । खानेपानीको न्युनतम महशुल निःशुल्क उपलब्ध गराए बापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक करिब २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने उपमेयर बानियाँले बताए ।
उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गरिरहेका नगरका उपभोक्ताहरुले खानेपानी बोर्डमा आवद्ध भएपछि उक्त सुविधा पाउने उपमहानगरपालिकाले जनाएको छ । उक्त सुविधा पाउनका लागि खानेपानी बोर्डमा आवद्ध हुन मेयर लामाले आह्वान गरेकी छन् ।
हेटाैडा उपमहानगरपालिकामा सामुदायिक धाराबाट पानी पिउनेकाे सङ्ख्या भने उपमहानगरले अध्याबधिक गरेकाे छैन । यसरी बाेर्डभन्दा बाहिरकाे पानी पिउनेकाे हकमा भने केही पछि निर्णय गरिने लामाले बताइन् ।

