मकवानपुर – सामाजिक विकृति अन्त्य गर्न सुचना प्रणालीको सही व्यवस्थापन आवश्यक हुने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छिन् ।
सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगति अन्त्य गर्न भुमिका खेल्ने उनले बताइन् । आज मकवानपुरको हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै उनले बैदेशिक रोजगारका नाममा भईरहेको वेचविखन जस्ता आपराधिक कार्य रोकथाममा प्रणालीले सहयोग गर्ने बताईन ।
मानव वेचविखनसँगै महिला, बालबालिका लगायतको एकिन तथ्यांक नहुँदा बजेट-कार्यक्रम निर्माण र कार्यान्वयनमा समस्या रहेको भन्दै मन्त्री मोक्तानले सामाजिक-आर्थिक विकास गर्नका लागि पनि सूचना प्रणाली छिटो लागू गर्नुपर्ने बताइन् ।
असहाय बालबालिकाको एकिन तथ्यांक नहुँदा समस्या भएको भन्दै उनले त्यस्ता बालबालिकाका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताइन् । तथ्यांक संकलनमा स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहेको उनले बताइन् । यसकार्यमा एकद्वार प्रणाली उचित हुने उनको सुझाव थियो।
कार्यक्रममा बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले सामाजिक सूचना प्रणाली सम्बन्धी कार्य महत्वपूर्ण रहेको भन्दै सुचना संकलन, व्यवस्थापन, पहुँच र परिमार्जनका लागि तीनै तहको सरकारले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्माले सामाजिक सूचना व्यवस्थापन प्रणालीको परिचय, महत्व, उदेश्य, सूचकहरू, निर्माण प्रकृया, प्रगति अवस्था, अपेक्षाबारे जानकारी गराएका थिए । कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका गोपालप्रसाद कंडेलले बागमती प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको संरक्षण नीतिको ड्राफ तयार भएको र सक्दो चांडै क्याविनेटबाट पास गरिने जानकारी दिए । उक्त नीति निर्माणका लागि शान्ति फाउन्डेसन द्वारा संचालित हाम्रो सम्मान परियोजनाले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले बेचबिखन अन्त्यको लागि सामुहिक ऐक्यबद्धता आवश्यक भएको बताइन् । कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका गाउँपालिका तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा हाल संघीय सरकारले व्यवस्थापन गर्न लागेको सूचना व्यवस्थापनमा मानव बेचविखनको घटनालाई प्राथमिकता दिएर तथ्यांक संकलन गरिने बारे जानकारी गराईएको थियो । सामाजिक सूचना व्यवस्थापन प्रणालीमा हिंसा पिडित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूको पनि संकलन गरिने छ ।
अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको शान्ति फाउन्डेसनको सन्चार अधिकृत क्रान्ति तामाङलेबताइन् ।

