चितवन । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले संस्कार बिनाको शिक्षा बिंड बिनाको खुर्पा जस्तै हुने बताउनु भएकाे छ । शनिबार चितवनकाे भरतपुरमा रहेकाे नयाँकिरण कमलकुसुम माध्यमिक बिद्यालयको ५८ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।
बिद्यार्थी लक्षित सम्बाेधन गर्दै प्रदेश प्रमुख देवकाेटाले भन्नुभयो ‘तपाइँहरू जिबनको उर्जाशील उमेरमा हुनुहुन्छ । मेहनतभन्दा अर्को बिकल्प छैन । सन्सार मेहनतीहरूको हो । तपाइहरूसङ्ग सपना हुनुपर्छ अनि त्यो सपनाले बिपनामा मेहनतको मार्गमा डाेर्याउनुपर्छ । यति पढ्नुस् कि अभिभावकले अबत सुत भो नानीबाबू भन्नुपरोस् । तपाई जहाँ भएपनी सस्कारी बन्नुस ।’
‘हरेक आमाबाबुले आफ्नो भन्दा सुखद जीवन छोराछोरीको होस् भन्ने चाहन्छन् र त्यसका लागि आफ्ना रहरहरूको तिलान्जली दिएर आफ्ना सन्तानको लागि दिनरात नभनी मेहनत गर्छन्’ उहाँले भन्नुभयो । ‘अभिभाबकको सपना तुहाउने छुट तपाइँ बिद्यार्थीलाई छैन । मेहनत गर्दागर्दै कहिलेकाही असफल हुनु नौलो होइन’ उहाँले भन्नुभयो ‘ मेहनत नगरी सफलता खोज्नु धान रोपेर मकै फल्छ भन्ने सोच्नुजस्तै हो । तपाईं नानीबाबुहरू कर्मशील हुनुहुन्छ र लक्ष्य हासिल गर्न सक्नु हुनेछ ।’
यसैगरी प्रदेश प्रमुख देवकाेटाले शिक्षक लक्षित सम्बाेधनमा तपाइँहरू यस्तो पेशामा हुनुहुन्छ जुन सबै पेशाहरूको जननी हो भन्नुभयो । ‘खरिदार वा नायब सुब्बा वा अधिकृत भएको भए नागरिकता वा अन्य केही बनाउनुहुन्थ्यो होला । शिक्षक भएर नागरिक बनाउनुहुन्छ’ उहाँले भन्नुभयो । शिक्षण पेशा आफ्नो जिवनको पहिलो पेशा भएकाे बताउँनु हुँदै उहाँले शिक्षकहरुले पेशाप्रती गर्व गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘शिक्षण पेशालाई म अत्यन्तै सम्मान गर्दछु। सम्पूर्ण समाज र रास्ट्रले यो पेशालाई उच्च मूल्यांकन गर्नुपर्दछ ।’
घर बालबालिकाको पहिलो पाठशाला भएकाे बताउँनु हुँदै प्रदेश प्रमुख देवकाेटाले अहिलेका नानीबाबुहरू भिन्न समयमा जन्मेका छन् । हाम्रा थुप्रै अनुभबहरू उनीहरूलाई अर्थ नलाग्ने बताउनु भयो। ‘अहिलेको समय तीब्ररूपमा परिवर्तनकारी छ र जीवन, पेशा, रोजगारी लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ’ उहाँले भन्नुभयो ‘अभिभावकले संस्कार र श्रमको मूल्य नानिबाबुलाई बुझाउनुपर्छ ।’
बिद्यालयले कितावी ज्ञानलाई मात्र जोड नदिएर कला, संस्कृति, कौशल, प्रविधि श्रमको सम्मान तथा विद्यार्थीकाे सर्बाङ्गीण विकासमा जोड दिएकोमा प्रशंसनीय रहेकाे उहाँले बताउनु भयो । ‘हामीले नानीबाबुलाई किताबमात्र होइन जीवन पढाउनुपर्छ । शैक्षिक प्रमाणपत्रहरू कागजी दस्ताबेजमात्र हुन्’ उहाँले भन्नुभयो ‘वास्तविक जीवन भिन्न हुन्छ । नानीबाबुहरू कर्मशील, अनुशासित, इमान्दार, ज्ञानी, बिबेकी, सकारात्मक सोच र चरित्रशीलता जस्ता गुणहरू अबलम्बन गर्ने सिकाइ हुनुपर्दछ ।’ बिद्यार्थी स्वयम्,अभिभावक, विद्यालय र समाज लगायत सबै मिलेर अघि बढे विद्यार्थीकाे भविश्य सुन्दर हुने उहाँले बताउनु भयो ।
‘संसारका हरेक पत्थरहरू मूर्ति बन्न लायक हुन्छन् तर ती पत्थरहरू असल कालिगढको हातमा पर्नुपर्छ’ उहाँले भन्नुभयो शिक्षकहरु, विद्यालय प्रशासन, व्यवस्थापन समिति,अभिभावक तथा समुदाय आफ्नो कालिगढी सिपमा अझै पोख्त हुनु पर्छ ।’ हाम्रो सरोकार हाम्रा नानीबाबुको उज्ज्वल भविश्य भएकाे उहाँले बताउनु भयो । ‘मनकारी दाताहरूको सहयोगले विद्यालयको समग्र परिवेशमा सकारात्मक उर्जा थप्न मद्दत पुर्याउँछ’ उहाँले भन्नुभयो ‘मन फुकाएर गर्नुभएको सहयोगले भविष्यका कर्णधारहरूको जग थप मजबुत हुन्छ ।’ शिक्षाको लगानी उत्कृष्ट लगानी भएकाे बताउँदै उहाँले भन्नुभयो ‘शिक्षाले व्यक्ति, समाज, राष्ट्र र समग्र मानव समाजलाई असल मार्गमा डोर्याउँछ । शिक्षा उज्यालोतिरको यात्रा हो ।’
वार्षिकाेत्सव कार्यक्रममा प्रदेश प्रमुख देवकाेटाले शिक्षाप्रेमीहरूको सालिक समेत अनावरण गर्नु भएकाे थियाे । विद्यालयले विभिन्न क्षेत्रका व्यक्तित्वलाई पुरस्कृत र सम्मानित गरेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन संघीय गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरकाे आयोजनामा १० वर्षपछि हुन लागेको महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने संघ अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
६ फागुन ६ देखि १८ फागुनसम्म आयोजना हुने महोत्सव संघ मकवानपुरकाे भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे उनले बताए ।
महोत्सवमा ३५० स्टल रहने छन् । जसमा निर्माण उपकरण, औद्योगिक उत्पादन, हस्तकला, महिला उद्यमीका सामग्रीहरू प्रदर्शनी तथा बिक्री गरिने छ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघ महासचिव राजेन्द्र चौलागाईंले जानकारी दिए ।महोत्सवले निर्माण सामग्री उत्पादक, बिक्रेता र उपभोक्ताबीच समन्वय बढाउने बताइएकाे छ। यसले गुणस्तरीय प्रतिस्पर्धा गर्दै व्यवसायीहरूबीच अन्तरक्रिया तथा चुनौतीबारे छलफलको अवसर समेत प्रदान गर्ने आयोजकले विश्वास लिएकाे छ ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएकाे छ। गायन क्षेत्र प्रवर्द्धन गर्न ‘हेटौँडा आइडल’ प्रतियोगिता आयोजना हुनेछ । जसमा मकवानपुरका प्रतिभाहरूकाे प्रस्तुति रहनेछ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ । हेटौंडा १७ ठूलोगङ्गटे स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा ३० माघबाट ७ फागुनसम्म महायज्ञ हुने मूल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक कृष्णदेव भण्डारीले अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा महायज्ञ हुने जानकारी दिए । महायज्ञमा पण्डित बद्रीविशाल शास्त्री र पण्डित दिनेश काफ्ले शास्त्रीले कथा वाचन गर्ने उनले जानकारी दिए ।
३० माघ विहान ७ बजे अङ्गारेश्वर मन्दिर परिसरबाट कलश यात्रा गरि महायज्ञकाे समुद्घाटन दिउँसो १ बजे गरिने संयोजक भण्डारीले बताए । कलश यात्रा मन्दिर परिसरबाट सुरु भइ हेटौंडा १७ हटिया वडा कार्यालय चोकदेखि हेटौंडा १८ आरामपुरसम्म पुगी मन्दिर परिसरमा आउने उनले जानरकारी दिए । मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित संघीय सांसद् दीपक बहादुर सिंहको प्रमुख आतिथ्यता तथा प्राचार्य (क्याम्पस प्रमुख) पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्रा.डा. विष्णुप्रसाद तिम्सिनाको विशिष्ट आतिथ्यतामा महायज्ञकाे संयुक्त समुद्घाटन हुने कार्यक्रम छ ।
नियमित सत्सङ्ग, आध्यात्मिक प्रवचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यले महायज्ञ गर्न लागिएको बताइएकाे छ । महायज्ञबाट संकलन हुने रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) लगाउने लक्ष्य रहेको प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले बताए ।
यस्तै, महायज्ञकाे लागि विभिन्न ८ वटा समिति गठन गरिएको छ । अर्थ समिति संयोजकमा धर्मराज अर्याल, प्रचार समिति संयोजकमा चुडामणि रुपाखेती, पुजा समिति संयोजकमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समिति संयोजकमा माया राना, सरसफाइ समिति संयोजकमा ओम प्रसाद अधिकारी, समान खरिद समिति संयोजकमा शमशेर पुडासैनी,भण्डारण समिति संयोजक सिताराम वाइबा रहने गरी गठन गरिएको हो ।
३० माघ देखि ६ फागुनसम्म प्रत्येक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पाठ पारायण तथा हवन, विहान ११ बजेदेखि खिउँसो ४ः३० बजेसम्म कथा प्रवचन, साँझ ६ बजेदेखि ९ बजेसम्म महात्म्य प्रवचन तथा भजन किर्तन हुने आयोजकले जनाएकाे छ । यस्तै ७ फागुनमा कथा विश्राम, तिलार्चन, पूर्णाहुति, प्रसाद वितरण, तथा महायज्ञ समापन गरिने छ ।
महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहने आयोजकले जनाइएको छ । आयोजकका अनुसार महायज्ञमा दान गर्नेहरुकाे लागि सम्मान कार्यक्रम समेत गरिने छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा २ जना मुक्तक सर्जक सम्मानित भएका छन् । मुक्तक मञ्च मकवानपुर शाखाको तेस्रो वार्षिकोत्सवको अवसरमा शनिबार मुक्तककारद्वय निलाञ्जला भारद्वाज र अस्मिता दाहाल सम्मानित भएका हुन् ।
नुवाकोटकी भारद्वाजलाई ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’ बाट सम्मानित गरिएकाे हाे । उक्त सम्मानकाे राशी नगर ७ हजार ७७७ रहेकाे छ । मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष तथा साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलाले आफ्नो पिता बहादुरानन्द बर्ताौलाकाे सम्झनामा उक्त सम्मानकाे स्थापना गरेका हुन् । मुक्तकालय नेपाल संस्थामार्फत मुक्तकको संस्थागत विकास, श्रीवृद्धि, उन्नयन र विस्तार साथै नेपाली साहित्यको मुक्तक विधामा निलाञ्जना मुक्तक सङ्ग्रह दिएर नेपाली मुक्तकको क्षेत्रमा योगदान पुर्याएकाेले उनलाई सम्मानित गरिएकाे हाे । यस अघि सो सम्मानबाट लोकेन्द्र डहरे(सिन्धुली) र दीपक समिप पोखरा सम्मानित भइसकेका छन् ।
यस्तै सिन्धुलीकी दाहाललाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ २०८१ बाट सम्मानित गरिएकाे हाे । उक्त सम्मानको राशि नगद ५ हजार ५५५ रहेकाे छ । स्थापनाकालमा ५ हजार १ रुपैया रहेकाे उक्त सम्मानकाे राशी २०८० सालबाट बढाएर ५ हजार ५५५ बनाइएकाे हाे । प्रगतिशील लेखक संघ अध्यक्ष श्रीराम अधिकारीले हजुरआमा इन्दिरादेवी अधिकारीकाे सम्झनामा उक्त सम्मान स्थापना गरेका हुन् । नेपाली साहित्यको मुक्तक विधामा प्रेमोपहार मुक्तक सङ्ग्रह दिएर नेपाली मुक्तकको क्षेत्रमा योगदान पुर्याएकाेले उनलाई सम्मानित गरिएकाे हाे । यस अघि सो सम्मानबाट समर्पण न्यौपाने (मकवानपुर) र विर्खे अन्जान (मकवानपुर) सम्मानित भएका छन् ।
पछिल्लो पुस्तासम्म मुक्तक विधालाई परिचित गराएर हौसला दिनका लागि र मुक्तक विधामै निरन्तर कलम चलाइरहेका अग्रज व्यक्ति व्यक्तित्वलाई सम्मानका लागि आफूहरुले उक्त सम्मानको स्थापना गरेकाे बर्तौला र अधिकारले जानकारी दिए ।
तेस्रो वार्षिकोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रिय वन्दना, गौडाकोट प्रज्ञा प्रतिष्ठान सचीव भिम प्रसाद शर्मा, सर्जक संजाल मकवानपुर संयोजक निमेष निखिल, वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेले शुभकामना मन्तव्यसहित मुक्तक वाचन गरेका थिए । यसै गरि पुरस्कृत व्यक्तित्वद्वयले ५/५ मुक्तक वाचन गरेका थिए ।
मुक्तक मञ्च मकवानपुरले शनिबार सम्मानसहित आयोजनना गरेको २१ औ मुक्तक वाचन श्रृखलामा अनुश्रीया खनाल, मिथिला अधिकारी,
राजुराम राउत,शोभा थापा,समिता पौडेल,सबिता तिमल्सिना,चिरञ्जीवी लामिछाने,कमल नेपाल,समीर पाख्रिन,देव निर्दोष,सुन्दर कार्की
देवराज तिवारी, पुरुषोत्तम आचार्य,अजर फुँयाल,सानू खनाल लगायतले २/२ वटा मुक्तक वाचन गरे ।
मञ्चले अन्य दुई वटा सम्मान समेत स्थापना गरेकाे छ । ‘तारा स्मृति मुक्तक सम्मान’ मुक्तक मञ्च मकवानपुरको संस्थापक उपाध्यक्ष किसन पौडेलद्वारा आफ्ना स्वर्गीय पिता तारा प्रसाद पौडेलको सम्झनामा मुक्तकको विधामा प्रदान गरिने गरि स्थापना गरेका छन् । सो सम्मानकाे राशी स्थापना कालमा ५ हजार ५५५ रहेकाेमा २०८० सालबाट बढाएर ७ हजार ५०० बनाइएकाे छ । उक्त सम्मानबाट देवराज खरेल मकवानपुर २०७९ र हरिकृष्ण काफ्ले रौतहट २०८० मा सम्मानित भइसकेका छन् । यस वर्षकाे सम्मान प्रदान गर्न बाँकी रहेकाे मुक्तक मञ्चले जनाएकाे छ ।
यस्तैगरी मञ्चले ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’ समेत स्थापना गरेकाे छ । हास्यव्यङ्ग्यकार आरसी रिजालद्वारा मुक्तककार हरिकृष्ण काफ्लेकाे सम्मान स्थापित सो सम्मान मुक्तकको विधामा प्रदान गरिने गरी स्थापना गरिएकाे हाे । उक्त सम्मानको राशी १० हजार नगद रहेकाे छ भने हालसम्म प्रादन गरिएकाे छैन् ।
मुक्तक मंच मकवानपुर अध्यक्ष सगर तिमल्सिनाको सभाध्यक्ष तथा मकवानपुरे अग्रज साहित्यका हयाग्रिव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे सहजिकरण मुक्तक मञ्च मकवानपुर सचिव सुवास सजलले गरेकाे थिए ।
नमस्ते झरना सिम्सुवा, धनकुटा । धनकुटा जिल्लामा रहेकाे नमस्ते झरना पर्यटकको गन्तव्य बन्न थालेको छ । जिल्लाकाे साँगुरीगढी गाउँपालिका सिम्सुवा खोलाको अनकन्टार ठाउँमा रहेकाे झरना भएकाे स्थानमा जान डराउनेमा अहिले हुलका हुल पर्यटक जान थालेका छन्।
धरान धनकुटा मार्गकाे सिम्सुवाबाट झरना सम्म जान २ किमि पैदल जानु पर्छ । अनकान्टार ठाउँमा रहेकाे झरना हेर्न विदाकाे दिन अहिले दैनिक १ हजारसम्म पर्यटक आउने गरेकाे झरना व्यवस्थापन समितिले जनाएकाे छ । धरान धनकुटा मार्ग भएर यात्रा गर्नेलाई झरनाले तान्ने गरेकाे छ । धनकुटाकाे भेडेटारबाट ८ किमि उत्तरमा नमस्ते झरना रहेकाे छ ।
करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरा तथा चल्ने बतासले झरनाकाे फोहाेरालाई यत्रतत्र घुमाइदिदा उकालाे चढेर गएका पर्यटकले सितलता महसुस गर्छन् । आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको झरना अवलोकल गर्न छिमेकी भारतबाट समेत पर्टक आउने गरेका छन् । साथै नेपालको विभिन्न स्थानबाट समेत गरी दैनिक करिब ४०० जना पर्यटक आउने गरेको झरना व्यवस्थापन तथा सरसफाई समितिले जनाएकाे छ ।
भेंडेटार हुँदै पुर्वका हिले तेह्रथुम फिदिम घुम्न आएका हेटौंडाका सन्ध्या आचार्यले यतिका बाटो पुर्व आएपछी झरनामा नआएको भए यात्रा अधुरै रहने बताइन् । नमस्ते झरनामा किशोर–किशोरीदेखि उमेर ढल्किँदै गरेकाहरु पनि पुग्ने गरेको छन्। राजमार्ग नजिकै रहेकाले प्रेमिल जोडीहरुको पनि यहाँ घुइँचो लाग्ने गरेको छ। तराईमा गर्मी छल्न झरनामा पर्यटकको बाक्लो आगमन हुन गर्दछ। शैक्षिक भ्रमण, वनभोजजस्ता कार्यक्रम झरना छेउछाउमा हुने गरेका छन्।

तत्कालिन भेडेटार गाविस, जिल्ला विकास कार्यालय धनकुटा, पर्यटन कार्यालय, पूर्वी सहरी विकास डिभिजन कार्यालय धनकुटा र सिम नेपाल धरानको सहकार्यमा पर्यटक भित्र्याउने उद्देश्यले ०६७ बाट झरनालाई पर्यटकीय गन्तव्यका रुपमा सञ्चालनमा ल्याइएको हो। झरना सञ्चालनमा आएपछि स्थानीय स्तरमा उत्पादित सागसब्जी, फलफूललगायत कृषिजन्य वस्तु गाउँमै बिक्री हुन थालेको स्थानीयको भनाइ छ।
झरनाको प्रवेशद्वार वरपर साना ठूला गरी दर्जन बढी होटल सञ्चालनमा छन्। झरनासम्म जाने बाटो बार सहित बनाइएकाे छ । पर्यटन विकास कार्यालय र होटल एसोसियसन भेंडेटारले झरनाको प्रचारप्रसार र प्रवर्द्धन गरिरहेका छन्। पर्यटन विकास कार्यालयको सहयोगमा झरना नजिकै कपडा फेर्नका लागि ‘चेञ्जिङ रुम’ निर्माण गरिएको छ। नमस्ते झरना आम्दानीको स्रोत बनेको छ। झरना प्रवेश शुल्कबाट वार्षिक अढाई लाख रुपैयाँभन्दा बढस् राजस्व संकलन हुने गरेको झरना व्यवस्थापन समितिले जानकारी दिएकाे छ।
राजमार्गबाट २ किमि मात्र टाढा रहेकाे झरनासम्म जान पहिले पहिरोको डर, खोल्सीमा भालु सिस्नुको डर र एकान्त छाँगो भएकोले जो कोही एक्लै दुक्लै कोही नजाने गरेकाे स्थानीय दिपा लिम्बु बताउँछन् । यो झरनाको शीरलाई लिम्बूनी लोहोसे भनिन्छ । उक्त झरना नमस्ते बाजे समेत भनेर चिनिने स्थानीय गोबिन्द राज लिम्बूको घर छेउबाट हेर्ने हो भने प्रकृति प्रेमी मन्त्रमुग्न हुन्छन । झरना सम्बन्धी अनुसन्धान गर्ने अनुसन्धानकर्ताको लागि सुगम स्थान तर चुनौतीपूर्ण खोच पनि हो ।
यो झरना हेर्न जति नजिक गयो त्यति हराउदै जान्छ । अग्लो ठाउँबाट झर्ने भएकाेले तलबाट माथि सम्मदेख्न सकिदैन् । उक्त स्थान हेर्नलाई सिम्सुवा मोडबाट खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ । अत्यन्तै रमणीय भेडेटार हुँदै हरियाली जङ्गलकाे उकालाे हुँदै त्यहाँ पुग्दा झरनाको सप्तरङ्गी इन्द्रणीको दृष्य हेर्न पाइन्छ ।

झरनाकै कारण सो क्षेत्रमा आर्थिक चहलपहल समेत निकै बढेको छ । १३ बर्षको अबधिमा झरनाको प्रवेशद्वार नजिकै साना ठूला गरी एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । प्रत्येक होटलले दैनिक १० देखि ५० हजार सम्म कारोवार गदै आएका छन् । पहिलेका तुलनामा होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् । हाेटल व्यवसायी लक्ष्मी राईले भनिन् ‘झरनाकाे कारण खुलेका हाेटलका कारण दैनिक गुजारा चलेकाे छ अर्काे काम गर्नु पर्ने आवश्यकता परेकाे छैन ।’
झरनाको थप महत्व बढाउन क्याननिङ, पिकनिक स्पोटर्, पोखरी निर्माण गर्ने तथा झरनाको स्रोत संरक्षण हुने संकेत देखिएको छ । धनकुटाको भेडेटार तथा नाम्जेपछि पर्यटकहरुले प्राकृतिक नमस्ते झरनालाई आफ्नो गन्तव्य बनाउन थालेका हुन् ।
पूर्वको प्रमुख पर्यटकीयस्थल बन्दै गएको नमस्ते झरना पुग्न भेडेटारदेखि धनकुटा बजारतर्फ करिव ८ किलोमिटरको यात्रा गरिसकेपछी सिम्सुवा मोड पुगिन्छ । त्यहाँबाट करिव २ किमिको बाटो पैदल हिडेपछि झरना भएको स्थानना पुग्न सकिन्छ । मध्यपहाडी मार्ग हुँदै यात्रा गर्नेहरु हिलेबाट धनकुटा बजार हुँदै २६ किमिको यात्रा गरेपछि सिम्सुवा हुँदै झरना पुग्न सक्छन् ।
झरनाकै कारण सो क्षेत्रका सयैले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । पर्यटकीय स्थलमा पुर्वाधारहरु निर्माण गरि प्रचार–प्रसार समेत गर्न सके पर्यटकीय सम्भावना बलियो हुने देखिन्छ ।