मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ । हेटौंडा १७ ठूलोगङ्गटे स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा ३० माघबाट ७ फागुनसम्म महायज्ञ हुने मूल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक कृष्णदेव भण्डारीले अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा महायज्ञ हुने जानकारी दिए । महायज्ञमा पण्डित बद्रीविशाल शास्त्री र पण्डित दिनेश काफ्ले शास्त्रीले कथा वाचन गर्ने उनले जानकारी दिए ।
३० माघ विहान ७ बजे अङ्गारेश्वर मन्दिर परिसरबाट कलश यात्रा गरि महायज्ञकाे समुद्घाटन दिउँसो १ बजे गरिने संयोजक भण्डारीले बताए । कलश यात्रा मन्दिर परिसरबाट सुरु भइ हेटौंडा १७ हटिया वडा कार्यालय चोकदेखि हेटौंडा १८ आरामपुरसम्म पुगी मन्दिर परिसरमा आउने उनले जानरकारी दिए । मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित संघीय सांसद् दीपक बहादुर सिंहको प्रमुख आतिथ्यता तथा प्राचार्य (क्याम्पस प्रमुख) पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्रा.डा. विष्णुप्रसाद तिम्सिनाको विशिष्ट आतिथ्यतामा महायज्ञकाे संयुक्त समुद्घाटन हुने कार्यक्रम छ ।
नियमित सत्सङ्ग, आध्यात्मिक प्रवचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यले महायज्ञ गर्न लागिएको बताइएकाे छ । महायज्ञबाट संकलन हुने रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) लगाउने लक्ष्य रहेको प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले बताए ।
यस्तै, महायज्ञकाे लागि विभिन्न ८ वटा समिति गठन गरिएको छ । अर्थ समिति संयोजकमा धर्मराज अर्याल, प्रचार समिति संयोजकमा चुडामणि रुपाखेती, पुजा समिति संयोजकमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समिति संयोजकमा माया राना, सरसफाइ समिति संयोजकमा ओम प्रसाद अधिकारी, समान खरिद समिति संयोजकमा शमशेर पुडासैनी,भण्डारण समिति संयोजक सिताराम वाइबा रहने गरी गठन गरिएको हो ।
३० माघ देखि ६ फागुनसम्म प्रत्येक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पाठ पारायण तथा हवन, विहान ११ बजेदेखि खिउँसो ४ः३० बजेसम्म कथा प्रवचन, साँझ ६ बजेदेखि ९ बजेसम्म महात्म्य प्रवचन तथा भजन किर्तन हुने आयोजकले जनाएकाे छ । यस्तै ७ फागुनमा कथा विश्राम, तिलार्चन, पूर्णाहुति, प्रसाद वितरण, तथा महायज्ञ समापन गरिने छ ।
महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहने आयोजकले जनाइएको छ । आयोजकका अनुसार महायज्ञमा दान गर्नेहरुकाे लागि सम्मान कार्यक्रम समेत गरिने छ ।

