मकवानपुर । मकवानपुरकाे हेटौंडामा आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन संघीय गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरकाे आयोजनामा १० वर्षपछि हुन लागेको महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने संघ अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
६ फागुन ६ देखि १८ फागुनसम्म आयोजना हुने महोत्सव संघ मकवानपुरकाे भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे उनले बताए ।
महोत्सवमा ३५० स्टल रहने छन् । जसमा निर्माण उपकरण, औद्योगिक उत्पादन, हस्तकला, महिला उद्यमीका सामग्रीहरू प्रदर्शनी तथा बिक्री गरिने छ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघ महासचिव राजेन्द्र चौलागाईंले जानकारी दिए ।महोत्सवले निर्माण सामग्री उत्पादक, बिक्रेता र उपभोक्ताबीच समन्वय बढाउने बताइएकाे छ। यसले गुणस्तरीय प्रतिस्पर्धा गर्दै व्यवसायीहरूबीच अन्तरक्रिया तथा चुनौतीबारे छलफलको अवसर समेत प्रदान गर्ने आयोजकले विश्वास लिएकाे छ ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएकाे छ। गायन क्षेत्र प्रवर्द्धन गर्न ‘हेटौँडा आइडल’ प्रतियोगिता आयोजना हुनेछ । जसमा मकवानपुरका प्रतिभाहरूकाे प्रस्तुति रहनेछ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।

