नमस्ते झरना सिम्सुवा, धनकुटा । धनकुटा जिल्लामा रहेकाे नमस्ते झरना पर्यटकको गन्तव्य बन्न थालेको छ । जिल्लाकाे साँगुरीगढी गाउँपालिका सिम्सुवा खोलाको अनकन्टार ठाउँमा रहेकाे झरना भएकाे स्थानमा जान डराउनेमा अहिले हुलका हुल पर्यटक जान थालेका छन्।
धरान धनकुटा मार्गकाे सिम्सुवाबाट झरना सम्म जान २ किमि पैदल जानु पर्छ । अनकान्टार ठाउँमा रहेकाे झरना हेर्न विदाकाे दिन अहिले दैनिक १ हजारसम्म पर्यटक आउने गरेकाे झरना व्यवस्थापन समितिले जनाएकाे छ । धरान धनकुटा मार्ग भएर यात्रा गर्नेलाई झरनाले तान्ने गरेकाे छ । धनकुटाकाे भेडेटारबाट ८ किमि उत्तरमा नमस्ते झरना रहेकाे छ ।
करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरा तथा चल्ने बतासले झरनाकाे फोहाेरालाई यत्रतत्र घुमाइदिदा उकालाे चढेर गएका पर्यटकले सितलता महसुस गर्छन् । आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको झरना अवलोकल गर्न छिमेकी भारतबाट समेत पर्टक आउने गरेका छन् । साथै नेपालको विभिन्न स्थानबाट समेत गरी दैनिक करिब ४०० जना पर्यटक आउने गरेको झरना व्यवस्थापन तथा सरसफाई समितिले जनाएकाे छ ।
भेंडेटार हुँदै पुर्वका हिले तेह्रथुम फिदिम घुम्न आएका हेटौंडाका सन्ध्या आचार्यले यतिका बाटो पुर्व आएपछी झरनामा नआएको भए यात्रा अधुरै रहने बताइन् । नमस्ते झरनामा किशोर–किशोरीदेखि उमेर ढल्किँदै गरेकाहरु पनि पुग्ने गरेको छन्। राजमार्ग नजिकै रहेकाले प्रेमिल जोडीहरुको पनि यहाँ घुइँचो लाग्ने गरेको छ। तराईमा गर्मी छल्न झरनामा पर्यटकको बाक्लो आगमन हुन गर्दछ। शैक्षिक भ्रमण, वनभोजजस्ता कार्यक्रम झरना छेउछाउमा हुने गरेका छन्।

तत्कालिन भेडेटार गाविस, जिल्ला विकास कार्यालय धनकुटा, पर्यटन कार्यालय, पूर्वी सहरी विकास डिभिजन कार्यालय धनकुटा र सिम नेपाल धरानको सहकार्यमा पर्यटक भित्र्याउने उद्देश्यले ०६७ बाट झरनालाई पर्यटकीय गन्तव्यका रुपमा सञ्चालनमा ल्याइएको हो। झरना सञ्चालनमा आएपछि स्थानीय स्तरमा उत्पादित सागसब्जी, फलफूललगायत कृषिजन्य वस्तु गाउँमै बिक्री हुन थालेको स्थानीयको भनाइ छ।
झरनाको प्रवेशद्वार वरपर साना ठूला गरी दर्जन बढी होटल सञ्चालनमा छन्। झरनासम्म जाने बाटो बार सहित बनाइएकाे छ । पर्यटन विकास कार्यालय र होटल एसोसियसन भेंडेटारले झरनाको प्रचारप्रसार र प्रवर्द्धन गरिरहेका छन्। पर्यटन विकास कार्यालयको सहयोगमा झरना नजिकै कपडा फेर्नका लागि ‘चेञ्जिङ रुम’ निर्माण गरिएको छ। नमस्ते झरना आम्दानीको स्रोत बनेको छ। झरना प्रवेश शुल्कबाट वार्षिक अढाई लाख रुपैयाँभन्दा बढस् राजस्व संकलन हुने गरेको झरना व्यवस्थापन समितिले जानकारी दिएकाे छ।
राजमार्गबाट २ किमि मात्र टाढा रहेकाे झरनासम्म जान पहिले पहिरोको डर, खोल्सीमा भालु सिस्नुको डर र एकान्त छाँगो भएकोले जो कोही एक्लै दुक्लै कोही नजाने गरेकाे स्थानीय दिपा लिम्बु बताउँछन् । यो झरनाको शीरलाई लिम्बूनी लोहोसे भनिन्छ । उक्त झरना नमस्ते बाजे समेत भनेर चिनिने स्थानीय गोबिन्द राज लिम्बूको घर छेउबाट हेर्ने हो भने प्रकृति प्रेमी मन्त्रमुग्न हुन्छन । झरना सम्बन्धी अनुसन्धान गर्ने अनुसन्धानकर्ताको लागि सुगम स्थान तर चुनौतीपूर्ण खोच पनि हो ।
यो झरना हेर्न जति नजिक गयो त्यति हराउदै जान्छ । अग्लो ठाउँबाट झर्ने भएकाेले तलबाट माथि सम्मदेख्न सकिदैन् । उक्त स्थान हेर्नलाई सिम्सुवा मोडबाट खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ । अत्यन्तै रमणीय भेडेटार हुँदै हरियाली जङ्गलकाे उकालाे हुँदै त्यहाँ पुग्दा झरनाको सप्तरङ्गी इन्द्रणीको दृष्य हेर्न पाइन्छ ।

झरनाकै कारण सो क्षेत्रमा आर्थिक चहलपहल समेत निकै बढेको छ । १३ बर्षको अबधिमा झरनाको प्रवेशद्वार नजिकै साना ठूला गरी एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । प्रत्येक होटलले दैनिक १० देखि ५० हजार सम्म कारोवार गदै आएका छन् । पहिलेका तुलनामा होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् । हाेटल व्यवसायी लक्ष्मी राईले भनिन् ‘झरनाकाे कारण खुलेका हाेटलका कारण दैनिक गुजारा चलेकाे छ अर्काे काम गर्नु पर्ने आवश्यकता परेकाे छैन ।’
झरनाको थप महत्व बढाउन क्याननिङ, पिकनिक स्पोटर्, पोखरी निर्माण गर्ने तथा झरनाको स्रोत संरक्षण हुने संकेत देखिएको छ । धनकुटाको भेडेटार तथा नाम्जेपछि पर्यटकहरुले प्राकृतिक नमस्ते झरनालाई आफ्नो गन्तव्य बनाउन थालेका हुन् ।
पूर्वको प्रमुख पर्यटकीयस्थल बन्दै गएको नमस्ते झरना पुग्न भेडेटारदेखि धनकुटा बजारतर्फ करिव ८ किलोमिटरको यात्रा गरिसकेपछी सिम्सुवा मोड पुगिन्छ । त्यहाँबाट करिव २ किमिको बाटो पैदल हिडेपछि झरना भएको स्थानना पुग्न सकिन्छ । मध्यपहाडी मार्ग हुँदै यात्रा गर्नेहरु हिलेबाट धनकुटा बजार हुँदै २६ किमिको यात्रा गरेपछि सिम्सुवा हुँदै झरना पुग्न सक्छन् ।
झरनाकै कारण सो क्षेत्रका सयैले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । पर्यटकीय स्थलमा पुर्वाधारहरु निर्माण गरि प्रचार–प्रसार समेत गर्न सके पर्यटकीय सम्भावना बलियो हुने देखिन्छ ।

