मकवानपुर । ‘हाम्रो घर’ बालगृहको अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित बालगृहकाे दिगोपनाकाे लागि महायज्ञ आयोजना गर्न लागिएकाे हाे ।
शुक्रबार बालगृहले पत्रकार भेटघाट गरी ज्ञान महायज्ञकाे जानकारी दिएकाे हाे । ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरले संचालन गर्दै आएकाे हाम्रो घर’ बालगृहकाे अक्षयकोष स्थापना गर्न १ फागुनदेखि ९ फागुनसम्म श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ धार्मिक महोत्सव हुने संस्थाकी अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिइन् ।
पछिल्लो समय आर्थिक मन्दीका कारण बालगृहमा रहेका बालबालिकालाई संरक्षण गर्न समस्या हुँदै आएपछि ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताइन् । महायज्ञ १ फागुन विहान ८ बजे गोरक्षेश्वर मन्दिर (राप्तीतट) बाट कलशयात्रासहित उद्घाटन गरिने बताइएकाे छ ।
२०६५ सालमा न्यौपानेले ८ बालबालिका आफ्नै घरमा राखेर सुरु गरेकाे बालगृहको गरी ५ वर्षपछि आफ्नै भवनबाट सेवा सुरु गरिएको उनले बताइन् । हाम्रो घर’ बालगृहमा १० बालिकासहित २७ जनाले आश्रय लिइरहेका छन् ।
पत्रकार सम्मेलनमा सप्ताह कार्यक्रम संयोजक मेनका श्रेष्ठ, सचिव टीका कुमारी पराजुली, कोषाध्यक्ष गिता गौतम, उपाध्यक्ष देवकुमारी चापागाईं, सदस्य राधा अधिकारी लगायतकाे उपस्थिति रहेकाे थियो।

