मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ। शुक्रबार नगर प्रमुख मिना कुमारी लामाले १४ नम्बरलाई बालमैत्री वडा घोषणा गरिन् ।
१४ नम्बर वडा बालमैत्री घोषणा भएसँगै हेटौंडा बालमैत्री उपमहानगरपालिका भएकाे छ । त्यसकाे औपचारिक तयारीमा उपमहानगरपालिका जुटेकाे छ । यस अघी हेटौंडा उपमहानगरपालिकाका १८ वटा वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन् ।
“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ शुक्रबार एक कार्यक्रममा वीच वडालाई निकृष्ट बालश्रमुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे । १ फागुनमा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने बताइएकाे छ ।
हेटौंडा १४ नम्बर वडाध्यक्ष एवम बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक दीपक खड्काले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे जानकारी दिए । ‘बालमैत्री घोषणाकाे लागि ताेकिएका ५१ वटा सूचकमध्ये ४७ वटा सूचकमा सतप्रतिशत, बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे’ उनले भने ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह संजाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समिति लगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् । ‘पूर्ण खोप वडा घोषणा पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक सूचकहरुमा अभ्यास गरी घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे खड्काले बताए ।
घरधुरी तथ्यांक संकलन सर्वेक्षण-२०७९ अनुसार १८ वर्ष मुनिका २ हजार ४ सय ९४ बालबालिका छन् । जसमा एक हजार २ सय ६७ बालक र एक हजार २ सय २७ बालिका रहेका छन् । कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ४८ दशमलव ४४ प्रतिशत बालिका र ५१ दशमलव ५५ प्रतिशत बालक रहेका छन् । सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहित ६ वटा विद्यालय सञ्चालनमा रहेको उनले बताए । २२ वटा बाल समूह र एक वडा बाल सञ्जाल रहेकाे वडामा ५ सय ५० जना बालबालिका आवद्ध छन् भने विभिन्न संरचनागत समितिमा समेत गरी ५ सय ७० बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उनकाे भनाई रहेकाे छ ।

