मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा पालिका खेलकुद विकास समितिको व्यवस्थापनमा १४–१७ फागुनसम्म तेस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको हो ।
पालिका खेलकुद विकास समिति संयोजक मोहन वाइबाले जारी गरेकाे सूचनामा प्रतियोगिताको बारे जानकारी गराइएकाे छ ।‘९’ए साइड नकआउट प्रतियोगितमा सहभागी हुन गाउँपालिकाको वडाका स्थायी, स्थानीय बासिन्दा हुनुपर्ने सूचनामा उल्लेख छ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ हात पार्ने छन् ।
यसैगरी उपविजेता टिमले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सेमिफाइनल प्रवेश गरी पराजित हुने टिमलाई १० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यस संस्करणबाट सहभागी टिम मध्ये अनुशासित टिमलाई समेत १० हजार प्रोत्साहन पुरस्कार प्रदान गरिने भएकाे छ । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
अध्यक्ष वाइबाद्वारा हस्ताक्षरित सूचनामा तेस्रो उपाध्यक्षकप भलिबल प्रतियोगिता २६–२८ फागुन २०८१ सम्म संचालन गर्ने भनिएकाेमा उक्त प्रतियोगितामा मिति ८–१० चैत २०८१ सम्म संचालन गरिने जानकारी गराइएकाे छ ।

