मकवानपुर । मकवानपुरकाे हेटौंडामा अण्डर १६ फुटबल प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयोजनामा अनुपम घलान स्मृति अन्डर १६ फुटबल प्रतियोगिता २०८१ हुने भएकाे हाे ।
नगर खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता सम्बन्धी जानकारी गराएकाे हाे । हेटौंडा १२ निवासी अनुपम घलानकाे १३ वर्षको उमेरमा १२ असोज २०८१ मा इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीमा पहिरोमा परी निधन भएको थियो। घलानको निधनपछि उनकाे स्मृतिमा १६ बर्ष मुनीको फुटबल टीम वीच प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकाे आर्थिक सहयोग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा हुने प्रतियोगिता ७ फागुनबाट हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगित हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैया प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले ७० हजार रुपैया हात पार्ने छन् । यसैगरी विधागत रुपमा उत्कृष्ट तर्फ समेत पुरस्कारकाे व्यवस्था गरिएकाे छ । सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ किपर, उत्कृष्ठ प्रशिक्षक, उत्कृष्ट डिफेन्सले जनही ५/५ हजार रुपैंया प्राप्त गर्नेछन् । फिफाकाे नियमानुसार प्रतियाेगिता नक आउटका आधारमा खेलाइने घिमिरे बताए ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका वडाहरुबाट १२ टिमकाे सहभागिता रहने बताइएकाे छ । उक्त प्रतियोगिताले आगामी वर्षबाट निरन्तरता पाउने समेत उनले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमकाे सम्बन्धित वडाबाट सिफारिस हुनु पर्ने, प्रत्येक खेलाडी १६ बर्ष उमेर ननाघेको हुनुपर्ने, खेलाडी सम्बन्धित वडाको स्थायी वासिन्दा हुनुपर्ने, खेलाडीकाे जन्मदर्ता अनिवार्य पेश गर्नु पर्ने, अन्य स्थानकाे भए बसाइसराईकाे प्रमाणपत्र अनिवार्य हुनु पर्ने लगायत छन् । सहभागी टिम दर्ता ४ फागुन सम्म नगर खेलकुद विकास समितिमा गर्नुपर्ने बताइएकाे छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ निवासी घलान अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित सिस्नेरीस्थित वात्सला देवी माविको प्रशिक्षण केन्द्रमा फुटवल प्रशिक्षण लिइरहेका थिए । उनको १३ वर्षको उमेरमा १२ असोज २०८१ मा जिल्लाकाे इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीमा पहिरोमा परी निधन भएको थियो । अविरल वर्षका कारण कुलेखानी जलाशय भरिदा ढोका खाेलिए पछि बाढीको जोखिमका कारण एकेडेमी भएकाे स्थानबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा घलानसहित ६ जनाकाे पहिरोमा परी मृत्यु भएकाे थियाे ।
नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेकाे सभाध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्यहरु लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

