मकवानपुर । सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा दोलखाको गौरीशंकरका २८ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको छ।
झापाबाट काठमाडौँ जान आउँदै गरेकाे बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरकाे गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका- ५ स्थित बीपी राजमार्गमा शुक्रबा बिहान पौने पाँचबजे सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना भएको थियाे।
उक्त दुर्घटनामा घाइते हुनेहरुमा इलामको देउमाई- ८ का ५३ वर्षीय सनबाहादुर तामाङ, मोरङको लेटाङ- २ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनोहरा- ५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापाकाे बारादशी- १ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन्।
घाइतेमध्ये मोरङ लेटाङकी देवी लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। ‘गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेकाे बताइएकाे छ ।
गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ भने दुर्घटना भएकाे गाडी चालककाे पहिचान खुलेकाे छैन ।

