मकवानपुर । माझी जातिको लदि पर्वमा सार्वजनिक बिदा दिन माग गरिएको छ । नेपाल माझी उत्थान संघले बागमती प्रदेश सरकारसँग लदि पर्वमा सार्वजनिक बिदा दिन माग गरेको हो ।
बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझाउँदै लदि (कोशी) पुजामा सार्वजनिक बिदा दिन माग गरिएको छ । माझी जातिको प्रमुख पर्व लदि (कोशी) पुजाको अवसरमा २० फागुनमा सार्वजनिक बिद माग गर्दै नेपाल माझी उत्थान सङ्घ केन्द्रीय अध्यक्ष चिनीमाया माझी नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको थियो । प्रत्येक वर्ष फागुनको साइली मङ्गलबार पर्ने लदी (कोसी) पूजा यस वर्ष आगामी २० फागुनमा परेको छ ।
लदि पर्व बिदाले प्रदेशमा बसोबास गर्ने माझीहरू प्रतिको सम्मान रहने संघले बुझाएको मागमा भनिएको छ ।ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले सबै जातजातिका सांस्कृतिक चाडपर्व, भाषा, धर्मको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताए । प्रदेशमा बसोवास गर्ने विभिन्न जातजातिमध्ये माझी जातिको छुट्टै भाषा, धर्म र संस्कार, संस्कृति भएको उनले बताए ।
‘बागमती सरकारले आफ्नो भूगोल भित्र विभिन्न जातजाति, भाषा भाषीको संस्कृति जगेर्ना गर्नु दायित्व र कर्तव्य हो’ महासचिव बविन्द्रलाल माझीले भने । आफ्नो छुट्टै भाषा, धर्म र संस्कार संस्कृति भएको माझी समुदायको महत्त्वपूर्ण पर्वमा सार्वजनिक बिदा दिन माग गरिएको ज्ञापनपत्रमा भनिएको छ ‘ छुट्टै पहिचान सहित नेपालको मध्य पहाडी, भित्री मधेस र तराईका जिल्लाहरूमा बसोबास रहेको माझी समुदाय विशिष्ट जाति रहेको छ ।’

‘परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुंगा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा अंगालेका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास वढीजसो नदी किनारमा रहेको छ,’ अध्यक्ष माझीले भनिन् ‘राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १ लाख ११ हजार ३५२ जनसंख्या माझीहरूको रहेको छ । माझीहरूको कुल जनसंख्या मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ (३७.४२ प्रतिशत) बसोबास गर्दछन् ।’
संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारलाई विभिन्न जातजातिको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण र जगेर्ना गर्ने संवैधानिक अधिकार रहेको महासचिव र अध्यक्षद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

