महोत्सवमा ज्योतिसँगै नाचे दर्शक
Tags: No Comments
मकवानपुर । हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा गायिका ज्योती मगरसँगै मंगलबार हेटाैंडाका दर्शक पनि नाचे । मगरले हेटौंडाको टिसिएन चौरमा आफ्ना चर्चित गीत गाउँदै दर्शकलाई नचाएकी हुन् ।
आफैं नाच्दै र गाउँदै स्टेजमा करिब एक घन्टा प्रस्तुती दिएकी उनलाई दर्शकहरुले धुलो उड्ने गरी नाचेर साथ दिएका थिए । बिदाको दिन भएकोले पनि अन्य दिनभन्दा मंगलबार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । मगरले करिब एक दर्जन गीत गाएकी थिइन ।
मगरसँगै कलाकारहरु ध्रुब बिस्को, मनोज गोर्खाली, केको सिङ लगायतको प्रस्तुती समेत थियो । लोक गायक पशुपति शर्मा आउने भनिएपनि बिशेष कारण उनी अनुपस्थित रहेका थिए ।
जारी महोत्सवमा बुधबार चर्चित लोक गायक बद्री पंगेनी, हेमन्त शर्मा, राजेन्द्र गुन्द्रुके, मिना गिरी लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । १७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको छन् ।
जिल्लाको खेल क्षेत्रको विकासमा लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले औधोगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैनिक विभिन्न बिधामा खेलकुदको स्पर्धा समेत भैरहेको छ । महोत्सव आयोजना स्थलमै खेलकुद प्रतियोगिता सन्चालन भैरहेको हो ।
महोत्सवमा खाना, लत्ताकपडा, विभिन्न सचेतनामुलकसहित २७० स्टल रहेका छन् । महोत्सवमा बाल उद्दान समेत रहेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा नेवार समुदायले यःमरि(मनपर्ने रोटी) पुन्हि पर्व मनाएका छन् । नयाँ धान भित्र्याएको खुसीयालीमा मनाईने यःमरि पुन्हि पर्व हेटौंडामा मनाईएको हाे ।
नेवार समुदायको दुई संस्थाले मंगलबार हेटौंडा बजारको बुद्धचोकमा निःशुल्क यःमरि र अचार वितरण गरि पर्व मनाएका छन् । नेवाः देय् दबु र नेवाः साँस्कृतिक पुचः मकवानपुरले छुट्टा छुट्टै यःमरि र अचार पकाएर वितरण गरेका थिए । कार्यक्रम नेवारी महिलाहरुले मौलिक पोशाक हाकुपटासीमा सजिएर यःमरी बनाएका थिए ।
नेवाः देय् दबुले आयोजना गरेको कार्यक्रम दबुका जिल्ला अध्यक्ष विष्णुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो । दबुले ४० किलो मैदाबाट करिव एक हजार चार सय वटा यःमरि र गोलभेडाको अचार निःशुल्क वितरण गरेको जनाएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय प्रतिनिधी सुरेश श्रेष्ठ, नेवाः देय् दबुका जिल्ला सचिव देवकुमार श्रेष्ठ, जिल्ला सदस्य यज्ञबहादुर श्रेष्ठ, हेटौंडा उपमहानगर अध्यक्ष प्रतिमा श्रेष्ठ, नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे लगायतको उपस्थिती रहेको थियो ।
नेवाः देय् दबुले मकवानपुर जिल्ला कार्यसमिति र हेटौंडा नगर कार्यसमितीबाट मात्र आर्थिक सहयोग संकलन गरी संस्कृती जगेर्ना गर्न यःमरि पुन्हि मनाएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा नेवाः अगुवाहरु शर्मिला श्रेष्ठ, सुना श्रेष्ठ, कान्छी श्रेष्ठ, शिव श्रेष्ठ, रमा श्रेष्ठ, राजु श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, विश्व श्रेष्ठ लगायतले यःमरि पुन्हि बनाउँन र वितरण सहयोग गरेका थिए ।
नेवाः साँस्कृतिक पुचः मकवानपुरले आयोजना गरेको यःमरि पुन्हि कार्यक्रम नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरको अध्यक्षतामा भएको थियो । करिब ५ सय जनालाई प्रति व्यक्ति २ वटा यमुरी र आलु चोखा वितरण गरिएको पुचःका जिल्ला महासचिव नारायण राजथलाले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाले उद्घाटन गरेकाे दुवै कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, शाखा अधिकृत गंगाकुमारी चौलागाई, भैरव कुमाल लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले कारागारलाई राइस स्टिमर सहयोग गरेको छ ।
गाउँपालिकाले मकवानपुरकाे भीमफेदी गाउँपालिकामा रहेकाे कारागारलाई राइस स्टिमर सहयोग गरेको हाे । गाउँपालिकाले कारागारमै पुगेर राइस स्टिमर हस्तान्तरण गरेको अध्यक्ष रञ्जन कालाखेतीले बताए । गाउँपालिकाले ३ लाख रुपैया बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो ।
असोज ५ गते कार्यपालिका बैठकले कारागारमा रहेका कैदी–बन्दिहरुलाई खाना पकाउने स्टिमर खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मनहरी गाउँपालिकामा स्थायी/अस्थायी रुपमा बसोबास गर्ने सयौँको संख्यामा कैदी–बन्दिहरु लागू औषध ओसारपसारका कारण कारागारमा छन् । गरिबीका कारण भरियाका रुपमा प्रयोग भएका ती सर्वसाधारणको दायित्वबोध गरी सहयोग गरिएको अध्यक्ष कालाखेतीले बताए ।
हालसम्म हिटरको प्रयोगबाट खाना पकाउने व्यवस्था रहँदै आएको निमित्त कारागार प्रमुख लामाले जानकारी दिए । उनले भने ‘हिटरको प्रयोगले मासिक ४ देखि ५ लाख सम्मको विजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउन र विजुली खपतमा पनि सहयोग पुग्नेछ ।’ यसबाट एउटा मेसिनमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २०० जनालाई खाना पकाउन सजिलो हुने भएको उनले बताए ।
२ वटा स्टिमर मेसिनले करिब ४०० जनाको खाना एक पटकमा पाक्ने जनाइएको छ । हाल कारागारमा १ हजार ६९ जना कैदी–बन्दिहरु छन् । ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेको उक्त कारागारमा अन्य स्थानीय तहले पनि यसैगरी सहयोग गरे सहज हुने कारागारका निमित्त प्रमुख लामा अपेक्षा सुनाए ।
मकवानपुर । मकवातनपुरकाे हेटौंडा १६ मा रहेको लक्ष्मीनारायण बाल समुहले हजिरीजबाफ प्रतियोगिता गरेको छ । प्रतियाेगितामा अनुभव काेइरालकाे समूह प्रथम तथा पुजना न्यौपानेकाे टाेली द्वितीय भएका छन् ।
हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाकाे आर्थिक सहयोगमा आयोजना गरिएकाे हजिरीजबाफ प्रतियोगितामा प्रथम भएकाे काेइरालाकाे टाेलीमा निहारिका ढकाल र दिप्सन सापकाेटा रहेका थिए । यसैगरी न्यौपानेकाे टाेलीमा अस्मिता काेइराला र अङ्कित गौतम रहेका थिए । प्रतियाेगितामा प्रमथ र द्वितीय हुने समूहलाई पुरस्कार वितरण गरिएकाे थियाे ।
तीन/तीन जनाकाे समूह रहने गरी संचालन गरिएकाे प्रतियाेगितामा ६ वटा समूहले भाग लिएका थिए । लक्ष्मीनारायण बाल समुहका अध्यक्ष उज्ज्वल कोइरालाकाे सभाअध्यक्ष तथा समाजसेवी टोल विकास संस्थाका अध्यक्ष शिव प्रसाद गौतमकाे प्रमुख आतिथ्यततामा सचालन भएकाे प्रतियाेगितामा तेजनाथ कोइराला, नारायण प्रसाद गौतम लगायतकाे आतिथ्यता रहेकाे थियाे ।