फापरबारी । मकवानपुरकाे बागमती गाउँपालिकामा गोल्मेराजा दरबार परिसरमा किरातेश्वर महादेवकाे मुर्ति अनावरण तथा दरबारकाे उद्घाटन गरिएकाे छ ।
मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति एव प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बागमती गाउँपालिका ६ गोल्मेराजा दरबारस्थित किराँतेश्वर महादेव मन्दिरको मुर्ति अनावरण एवं पुरातात्विक गोल्मेराजा दरबारको मंगलबार समुदघाटन गरेका हुन् । प्रदेशसभा सदस्य बानियाँको पहलमा प्रदेश सरकारबाट विनियोजित ३० लाख रुपियाँ बजेटमा ऐतिहासिक गोल्मेराजा दरबारको घेराबार र मन्दिर निर्माण भएको हाे ।
प्रमुख अतिथि बानियाँले ऐतिहासिक पुरातात्त्विक गोल्मेराजा दरबारको संरक्षण र मन्दिरको आवश्यक भौतिक पूर्वाधार निर्माणको लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउँदै दरवारलाई राष्ट्रिय तथा अर्न्तराष्ट्रियरुपमा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने बताए ।
गोल्मेराजा दरबार संरक्षण एवं पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष जयबहादुर राईको सभाध्यक्षता तथा बानियाँको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बागमती गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, बागमती गाउँपालिका ६ का वडाअध्यक्ष टेकबहादुर डिम्डुङ, गोल्माराजा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर राईलगायतकाे उपस्थिति रहेकाे थियाे ।

