मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले कारागारलाई राइस स्टिमर सहयोग गरेको छ ।
गाउँपालिकाले मकवानपुरकाे भीमफेदी गाउँपालिकामा रहेकाे कारागारलाई राइस स्टिमर सहयोग गरेको हाे । गाउँपालिकाले कारागारमै पुगेर राइस स्टिमर हस्तान्तरण गरेको अध्यक्ष रञ्जन कालाखेतीले बताए । गाउँपालिकाले ३ लाख रुपैया बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो ।
असोज ५ गते कार्यपालिका बैठकले कारागारमा रहेका कैदी–बन्दिहरुलाई खाना पकाउने स्टिमर खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मनहरी गाउँपालिकामा स्थायी/अस्थायी रुपमा बसोबास गर्ने सयौँको संख्यामा कैदी–बन्दिहरु लागू औषध ओसारपसारका कारण कारागारमा छन् । गरिबीका कारण भरियाका रुपमा प्रयोग भएका ती सर्वसाधारणको दायित्वबोध गरी सहयोग गरिएको अध्यक्ष कालाखेतीले बताए ।
हालसम्म हिटरको प्रयोगबाट खाना पकाउने व्यवस्था रहँदै आएको निमित्त कारागार प्रमुख लामाले जानकारी दिए । उनले भने ‘हिटरको प्रयोगले मासिक ४ देखि ५ लाख सम्मको विजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउन र विजुली खपतमा पनि सहयोग पुग्नेछ ।’ यसबाट एउटा मेसिनमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २०० जनालाई खाना पकाउन सजिलो हुने भएको उनले बताए ।
२ वटा स्टिमर मेसिनले करिब ४०० जनाको खाना एक पटकमा पाक्ने जनाइएको छ । हाल कारागारमा १ हजार ६९ जना कैदी–बन्दिहरु छन् । ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेको उक्त कारागारमा अन्य स्थानीय तहले पनि यसैगरी सहयोग गरे सहज हुने कारागारका निमित्त प्रमुख लामा अपेक्षा सुनाए ।
