मकवानपुर । मंशिर ४ गते हुने निर्वाचनमा नेपाल परिवारदलले मकवानपुर जिल्लामा नेकपा एमालेलाई सहयाेग गर्ने भएकाे छ । एमालेबाट जिल्लामा उम्मेदवार बनेका प्रतिनिधिसभा तथा प्रदेश सभाका ६ जना उम्मेदवारलाई सहयोग गर्ने दलले जनाएकाे छ ।
शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि बहादुर लोप्चनले पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीले प्रतिनिधीसभा र प्रदेशसभा तर्फ एमालेका उम्मेदवारलाई मतदान गर्ने बताए । परिवार दलभित्र आवद्ध रहेका र बाहिर समेत रहेका आम नागरिकलाई एमाले नै राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएकाले मतदान गर्न लोप्चनले आग्रह समेत गरेका छन् । परिवार दलले मकवानपुरमा एमालेका उम्मेदवारलाई सहयाेग गर्ने कदम सकारात्मक रहेको एमाले मकवानपुर प्रचार विभाग प्रमुख धुर्व प्रसाद चौलागाईले बताए ।
निर्वाचनमा एमाले तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा कमल थापा, क्षेत्र नम्बर–१ प्रदेशसभा क मा कमल विष्ट, प्रदेश सभा ख मा एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ मा महेश कुमार बर्तौला, क्षेत्र नम्बर–२ प्रदेश सभा क मा विष्णु प्रसाद ढकाल र प्रदेश सभा ख मा लाल बहादुर थापा उम्मेदवार रहेका छन् ।
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि दल संबद्ध उम्मेदवार चुनावी सभामा ब्यस्त छन । उम्मेदवारहरु कोणसभा तथा घरदैलो गर्दा समेत दलबल सहित ब्यस्त रहने गरेका छन । कतिपय उम्मेदवारहरु फरक दलका उम्मेदवारलाई गाली गर्नमै ब्यस्त रहेका छन् । अहिले दल मात्र हैन चुनावमा स्वतन्त्र उठेका ब्यक्तिहरुपनि समूह लिएरनै चुनावमा उत्रेका छन् ।
तर मकवानपुरका एकजना दलका उम्मेदवार भने फरक शैलीमा चुनावी अभियानलाई सञ्चालन गरिरहेका छन् । गाँजालाई बैधानिक बनाईनुपर्ने मुल मुद्दाको प्रतिबद्धता सहित चुनावी मैदानमा उत्रिएका छन राप्रपाको तर्फबाट उम्मेदवार राजन मैनाली । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नंबर २ का उम्मेदवार मैनाली गाजालाई बैधानिक बनाईनु पर्ने मुख्य एजेन्डा सहित चुनाव प्रचारलाई समेत फरक शैलीमा सञ्चालन गरिरहेका छन् । उनको कार्यक्रममा अरु दलको जस्तो तामझम देखिदैन भने कुनै मञ्च, सभाध्यक्ष र वक्ताहरु पनि देखिदैन । उनले निर्वाचन आयोगले दिएको उम्मेदवार परिचयपत्रको माला लगाउँदै एउटा हाते माईकको प्रयोग गरि आफ्नो क्षेत्रमा प्रचारमा छन् ।
मैनाली मतदाताले सुन्ने गरि आफ्ना एजेन्डा सुनाउने गर्छन । राजालाई आदर्श मान्ने पार्टीको उम्मेदवार भएपनि मैनालीको चुनाव प्रचारको तरिका भने कम्युनिष्ट झल्कने स्थानीय मतदाताहरुले बताएका छन् । उ बेला रुपचन्द्र विष्टले यसरीनै हाते माईक लिएर टोलटोलमा भाषण गर्दै हिडेको झल्को मैनालीको चुनाव प्रचारले दिएको बताउँछन् स्थानीय मतदाता । मैनालीको चुनावी एजेण्डापनि अन्य दलको जस्तो धेरै थरी छैन् । भौतिक निर्माण, स्वास्थ्य खानेपानी, शिक्षा आधारभुत बस्तु रहेको र त्यो निरन्तर विकास हुँदै जाने भन्दै मैनालीले यो पटक गाँजाको मुद्दालाई प्रमुख बनाएका छन् ।
आफूले उम्मेदवारी दिएको क्षेत्र नंबर २ मा गाँजाको कारण हजारौ युवाहरु अहिले जेलमा छन भने बैध भएको अवस्थामा लाखौ रुपैयामा विक्री हुने गाँजा अहिले गाउलेको लागि ‘नखाउ भने दिनभरीको शिकार। खाउँ भने कान्छा बाहुको अनुहार’ भन्ने उखान जस्तै भएको भन्दै आफूले सो मुद्दालाई महत्वको साथमा उठाएको बताए । गाजालाई बैध बनाउन सके मकवानपुरको मात्र नभएर देशकै आर्थिक अवस्थामा ठुलो परिवर्तन आउने बुझाई मैनालीको छ । नेपालको गाजालाई अबैध बनाउन दबाब दिने अमेरिका सहित पश्चिमाका धेरै मुलुकहरुले गाँजा प्रतिवन्ध फुकुवा गरिसकेको बताउँदै उनले नेपालले पनि अब ढिला गर्न नहुने बताउँछन् ।
जिल्लाको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, मनहरी गाउँपालिकाका केहि स्थानमा गाजको अबैधानिक खेती नै हुने गरेको छ । २ प्रतिनिधि सभा क्षेत्र रहेको ति पालिका जिल्लाको क्षेत्र नम्बर २ मा पर्छ । गाजालाई बैधानिक बनाउने गठबन्धनका उम्मेदवारहरुले समेत चुनावी सभामा बोल्दै आएका छन् । आफ्नो क्षेत्रमा गाजा उत्पादन हुने क्षेत्र रहेकोले मतदाता आकर्षित गर्न उम्मेदवारहरु गाजालाई चुनावी अस्त्र बनाउने गरेको स्थानीय बताउँछन् । गाजा ओसारपसारमा भरिया पक्राउ पर्ने तर मुख्य ब्यक्ति पक्राउ गर्न नसक्दा भरियाहरुले मुद्दा झेल्दै आएका छन् । चुनाव पछि जीत हासिल गर्ने उम्मेदवारले यसलाई कतिको सम्बोधन गर्न सक्छन् त्यो समयले बताउने छ ।
मकवानपुर । च्योवाङ राष्ट्रिय परिषदले आफूहरुको भाषा, सस्कृती र पहिचान नेतृत्वको कमजोरीको कारण गुम्दै आएको भन्दै यस विरुद्ध ध्यानाकर्षण गराएका छन् ।
परिषदले विभिन्न मागहरु राख्दै चरणबद्ध आन्दोलको घोषणा गरेको छ । च्योवाङहरुलाई जंगली, पछौटे, अल्पसंख्यक, लोपोन्मुख, चेपाङ, प्रजा जस्ता विशेषण र नामद्वारा चिनिने गरेकोले यसले आफूहरुको आत्मासम्मान, गर्विलो ईतिहास, राजनीति, अर्थतन्त्र तथा आत्मारक्षा क्षमतालाई निच देखाएको उनीहरुको ठहर छ ।
नेतृत्व वर्गले राजनैतिक स्वार्थ पुर्ति गर्नको लागि दुई प्रदेश, चार जिल्ला तथा विभिन्न नगर तथा गाउँ पालिकामा विभाजन गर्ने कार्य प्रति च्योवाङ समूदायको गम्भिर असहमती रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
परिषदले च्योवाङहरुको ऐतिहासिक भूमीलाई च्योवाङ स्वायत्त क्षेत्र घोषणा गर्न जोडदार माग गरेको छ ।
च्योवाङ पुर्खाहरुले ऐतिहासिक कालदेखी अभ्यास गर्दै आएको सामाजिक(सांस्कृतिक, आर्थिक तथा राजनीतिक प्रणालीको आधारमा च्योवाङ राष्ट्रिय परिषदले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गरि निर्माण गरेको च्योवाङ स्वशासन विधानको आधारमा च्योवाङ स्वायत्त क्षेत्र स्वशासित हुने हुदाँ उक्त स्वशासन विधान तथा स्वायत्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मान्यता प्रदान गर्न माग गरेको छ ।
परिषदले सामुदायिक वन, राष्ट्रिय निकुन्ज, राष्ट्रिय गौरवको आयोजना, औद्योगिक क्षेत्र, खानी लगाएत विभिन्न बहाना बनाई खोसिएका च्योवाङहरुको भूमी, भूक्षेत्र तथा श्रोतहरु तुरुन्त फिर्ता गर्दै आगामी दिनमा यस्तो औपनिवेसिकता नहुने सुनिश्चितता गर्न माग गरेको च्योवाङ राष्ट्रिय परिषद संयोजक गाब्रियल च्योवाङले बताए ।
मकवानपुर । हेटौडामा शुक्रबार २ जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरकाे १७ औं वार्षिक साधारण सभामा मकवानपुरका पत्रकारद्वय राममणि दाहाल र अञ्जली थापा सम्मानित भएका हुन ।
लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका दाहाल र थापालाई जनही नगद ५ हजार ५ सय ५५ र प्रशंसापत्रसहित सम्मान गरिएकाे हाे । हेटौडाका व्यवसायी महेन्द्र राउतले आफ्ना आमावुवाकाे नामा स्थापना गरेकाे पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार-२०७८ बाट गोरखापत्र दैनिकका दाहाल सम्मानित भएका हुन् । यसैगरी पत्रकार महासंघ मकवानपुरले संस्थापक अध्यक्ष न्युछेमान श्रेष्ठकाे नाममा स्थापना गरेकाे न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार-२०७८ बाट रासस जिल्ला संवाददाता थापा सम्मानित भएकी हुन् ।
यसैबीच नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा शुक्रबारै सकिएकाे छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको साधारणसभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो। साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन,सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
