मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि दल संबद्ध उम्मेदवार चुनावी सभामा ब्यस्त छन । उम्मेदवारहरु कोणसभा तथा घरदैलो गर्दा समेत दलबल सहित ब्यस्त रहने गरेका छन । कतिपय उम्मेदवारहरु फरक दलका उम्मेदवारलाई गाली गर्नमै ब्यस्त रहेका छन् । अहिले दल मात्र हैन चुनावमा स्वतन्त्र उठेका ब्यक्तिहरुपनि समूह लिएरनै चुनावमा उत्रेका छन् ।
तर मकवानपुरका एकजना दलका उम्मेदवार भने फरक शैलीमा चुनावी अभियानलाई सञ्चालन गरिरहेका छन् । गाँजालाई बैधानिक बनाईनुपर्ने मुल मुद्दाको प्रतिबद्धता सहित चुनावी मैदानमा उत्रिएका छन राप्रपाको तर्फबाट उम्मेदवार राजन मैनाली । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नंबर २ का उम्मेदवार मैनाली गाजालाई बैधानिक बनाईनु पर्ने मुख्य एजेन्डा सहित चुनाव प्रचारलाई समेत फरक शैलीमा सञ्चालन गरिरहेका छन् । उनको कार्यक्रममा अरु दलको जस्तो तामझम देखिदैन भने कुनै मञ्च, सभाध्यक्ष र वक्ताहरु पनि देखिदैन । उनले निर्वाचन आयोगले दिएको उम्मेदवार परिचयपत्रको माला लगाउँदै एउटा हाते माईकको प्रयोग गरि आफ्नो क्षेत्रमा प्रचारमा छन् ।
मैनाली मतदाताले सुन्ने गरि आफ्ना एजेन्डा सुनाउने गर्छन । राजालाई आदर्श मान्ने पार्टीको उम्मेदवार भएपनि मैनालीको चुनाव प्रचारको तरिका भने कम्युनिष्ट झल्कने स्थानीय मतदाताहरुले बताएका छन् । उ बेला रुपचन्द्र विष्टले यसरीनै हाते माईक लिएर टोलटोलमा भाषण गर्दै हिडेको झल्को मैनालीको चुनाव प्रचारले दिएको बताउँछन् स्थानीय मतदाता । मैनालीको चुनावी एजेण्डापनि अन्य दलको जस्तो धेरै थरी छैन् । भौतिक निर्माण, स्वास्थ्य खानेपानी, शिक्षा आधारभुत बस्तु रहेको र त्यो निरन्तर विकास हुँदै जाने भन्दै मैनालीले यो पटक गाँजाको मुद्दालाई प्रमुख बनाएका छन् ।
आफूले उम्मेदवारी दिएको क्षेत्र नंबर २ मा गाँजाको कारण हजारौ युवाहरु अहिले जेलमा छन भने बैध भएको अवस्थामा लाखौ रुपैयामा विक्री हुने गाँजा अहिले गाउलेको लागि ‘नखाउ भने दिनभरीको शिकार। खाउँ भने कान्छा बाहुको अनुहार’ भन्ने उखान जस्तै भएको भन्दै आफूले सो मुद्दालाई महत्वको साथमा उठाएको बताए । गाजालाई बैध बनाउन सके मकवानपुरको मात्र नभएर देशकै आर्थिक अवस्थामा ठुलो परिवर्तन आउने बुझाई मैनालीको छ । नेपालको गाजालाई अबैध बनाउन दबाब दिने अमेरिका सहित पश्चिमाका धेरै मुलुकहरुले गाँजा प्रतिवन्ध फुकुवा गरिसकेको बताउँदै उनले नेपालले पनि अब ढिला गर्न नहुने बताउँछन् ।
जिल्लाको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, मनहरी गाउँपालिकाका केहि स्थानमा गाजको अबैधानिक खेती नै हुने गरेको छ । २ प्रतिनिधि सभा क्षेत्र रहेको ति पालिका जिल्लाको क्षेत्र नम्बर २ मा पर्छ । गाजालाई बैधानिक बनाउने गठबन्धनका उम्मेदवारहरुले समेत चुनावी सभामा बोल्दै आएका छन् । आफ्नो क्षेत्रमा गाजा उत्पादन हुने क्षेत्र रहेकोले मतदाता आकर्षित गर्न उम्मेदवारहरु गाजालाई चुनावी अस्त्र बनाउने गरेको स्थानीय बताउँछन् । गाजा ओसारपसारमा भरिया पक्राउ पर्ने तर मुख्य ब्यक्ति पक्राउ गर्न नसक्दा भरियाहरुले मुद्दा झेल्दै आएका छन् । चुनाव पछि जीत हासिल गर्ने उम्मेदवारले यसलाई कतिको सम्बोधन गर्न सक्छन् त्यो समयले बताउने छ ।

