मकवानपुर । हेटौडामा शुक्रबार २ जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरकाे १७ औं वार्षिक साधारण सभामा मकवानपुरका पत्रकारद्वय राममणि दाहाल र अञ्जली थापा सम्मानित भएका हुन ।
लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका दाहाल र थापालाई जनही नगद ५ हजार ५ सय ५५ र प्रशंसापत्रसहित सम्मान गरिएकाे हाे । हेटौडाका व्यवसायी महेन्द्र राउतले आफ्ना आमावुवाकाे नामा स्थापना गरेकाे पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार-२०७८ बाट गोरखापत्र दैनिकका दाहाल सम्मानित भएका हुन् । यसैगरी पत्रकार महासंघ मकवानपुरले संस्थापक अध्यक्ष न्युछेमान श्रेष्ठकाे नाममा स्थापना गरेकाे न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार-२०७८ बाट रासस जिल्ला संवाददाता थापा सम्मानित भएकी हुन् ।
यसैबीच नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा शुक्रबारै सकिएकाे छ। महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको साधारणसभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो। साधारणसभामा अध्यक्षले संस्थागत प्रतिवेदन,सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

