मकवानपुर । च्योवाङ राष्ट्रिय परिषदले आफूहरुको भाषा, सस्कृती र पहिचान नेतृत्वको कमजोरीको कारण गुम्दै आएको भन्दै यस विरुद्ध ध्यानाकर्षण गराएका छन् ।
परिषदले विभिन्न मागहरु राख्दै चरणबद्ध आन्दोलको घोषणा गरेको छ । च्योवाङहरुलाई जंगली, पछौटे, अल्पसंख्यक, लोपोन्मुख, चेपाङ, प्रजा जस्ता विशेषण र नामद्वारा चिनिने गरेकोले यसले आफूहरुको आत्मासम्मान, गर्विलो ईतिहास, राजनीति, अर्थतन्त्र तथा आत्मारक्षा क्षमतालाई निच देखाएको उनीहरुको ठहर छ ।
नेतृत्व वर्गले राजनैतिक स्वार्थ पुर्ति गर्नको लागि दुई प्रदेश, चार जिल्ला तथा विभिन्न नगर तथा गाउँ पालिकामा विभाजन गर्ने कार्य प्रति च्योवाङ समूदायको गम्भिर असहमती रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
परिषदले च्योवाङहरुको ऐतिहासिक भूमीलाई च्योवाङ स्वायत्त क्षेत्र घोषणा गर्न जोडदार माग गरेको छ ।
च्योवाङ पुर्खाहरुले ऐतिहासिक कालदेखी अभ्यास गर्दै आएको सामाजिक(सांस्कृतिक, आर्थिक तथा राजनीतिक प्रणालीको आधारमा च्योवाङ राष्ट्रिय परिषदले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गरि निर्माण गरेको च्योवाङ स्वशासन विधानको आधारमा च्योवाङ स्वायत्त क्षेत्र स्वशासित हुने हुदाँ उक्त स्वशासन विधान तथा स्वायत्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मान्यता प्रदान गर्न माग गरेको छ ।
परिषदले सामुदायिक वन, राष्ट्रिय निकुन्ज, राष्ट्रिय गौरवको आयोजना, औद्योगिक क्षेत्र, खानी लगाएत विभिन्न बहाना बनाई खोसिएका च्योवाङहरुको भूमी, भूक्षेत्र तथा श्रोतहरु तुरुन्त फिर्ता गर्दै आगामी दिनमा यस्तो औपनिवेसिकता नहुने सुनिश्चितता गर्न माग गरेको च्योवाङ राष्ट्रिय परिषद संयोजक गाब्रियल च्योवाङले बताए ।

