- सुदर्शन अधिकारी, हेटाैंडा–११ नवलपुर, नलेज भिलेज
केही दिन पहिले मेरो पित्तको थैलोमा देखिएका तिनवटा ढुङ्गाहरुको कारण पित्तको थैलो शल्यक्रिया गरि झिक्नु परेकोले काठमाडौ स्थित एउटा निजि अस्पताल पुगे। उक्त अस्पतालले मलाई भर्ना गरे देखि डिस्चार्ज अवधिसम्म सम्पूर्ण जिम्मेवारी लिएको थियो । उदाहरणको रूपमा: भर्ना लिएदेखी बिरामीको कुरुवा वा आफन्तसङ्ग यो चाहियो वा त्यो चाहियो भनेन । अप्रेशन सकिएपछि कुरुवाहरु आ-आफ्नो घर जान सकिने रहेछ । रातभर अस्पतालमा बस्नुको कुनै औचित्य देखिएन र वास्तवमा कुरुवा बस्ने स्थानको व्यवस्था पनि रहेन छ ।
पोस्ट अपरेटिभ वार्डमा बिरामीको बेड अगाडि नै टेबुल, कुर्सी र बिरामीको फायल राखी नर्सिङ स्टाफले प्रत्येक आधा घण्टामा पल्स, रक्तचाप, अक्सिजन लेभल आदि मनिटरबाट टिपोट गरि रेकर्ड राख्ने, बिरामीसङ्ग स्वास्थ्य अवस्था सोध्ने, तातो पानी खान दिने, बिहान ट्वाइलेटसम्म जान सहयोग गरि दिने वा डाइपर लगाइदिने, दात माझ्न ब्रस मन्जन दिने, चिया बिस्कुट दिने र आवस्यकता अनुसार अस्पताल क्यान्टिनबाट खानेकुरा मगाइदिने तथा आवस्यक परेका औषधिहरु समेत अस्पतालले नै फार्मेसीबाट मगाउने व्यवस्था रहेछ ।
उक्त अस्पतालले उदघोष गरेको मुलमन्त्र हो ” You are in safe hand .” अस्पताल परिसर भरी जताततै देखिने यो मुलमन्त्रले बिरामीको आत्मबल उच्च राख्न मद्दत गर्ने मेरो अनुभव रह्यो । निजी अस्पतालमा उपचार गराउने क्षमता अधिकाँस जनतामा छैन । त्यसैले ,सरकारी र सामुदायिक अस्पतालको क्षमता र स्तर व्यापक बढाइ आमजनताको पहुँचमा सहज स्वास्थ्य सेवा बढाउनु राज्यको पहिलो कर्तव्य हो ।स्वास्थ्य सेवा जति सहज र स्तरिय हुन्छ, सरकार त्यति नै सफल हुन्छ ।हालै कोभिड संक्रमण बढेको अवस्थामा बेड र अक्सिजनको सर्वथा अभाव देखिन थाल्यो ।
बिरामीका आफन्तहरू बेड र अक्सिजन खोज्न एउटा अस्पतालबाट अर्को अस्पताल चहार्नु पर्ने अवस्था र केही अस्पतालले अक्सिजनको जोहो बिरामीको आफन्तबाट हुनसके मात्र उपचार गर्न सकिने भनिएको कारण बिरामी र बिरामिका आफन्तहरु निकै तनावग्रस्त भए । बिरामीको आत्मबल घटन गयो जस्को कारण पनि मृत्यु दर बढेको अनुमान गर्न सकिन्छ । स्वास्थ्य सेवा पाउनु नागरिकको संविधान प्रदत अधिकार हो र यो मानवीय कार्य पनि हो । बिरामी अस्पताल पुग्छन भने अस्पतालको स्तर अनुरुपको सेवा दिन अस्पताल हरपल तयार हुनु पर्दछ । गतवर्ष कोभिड संक्रमण बढदै गर्दा खासगरी केही निजि अस्पतालले शुरुमा कोभिड बिरामीलाई प्रवेष नै दिएका थिएनन् ।
यस वर्ष कोभिड वार्डको विशेष ब्यवस्था गरि सेवा दिइरहेका छन ।कोभिडले ग्रसित भै स्वास फेर्न गाह्रो पर्ने बिरामीलाई अक्सिजन अनिवार्य छ र आवस्यक अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी पनि अस्पताल कै हो । हालको महामारीमा माग अत्यन्तै बढेको तर वर्तमान उत्पादन क्षमता र सिलिन्डरको अभावको कारण अक्सिजनको चरम अभाव देखिएको हो । नयाँ थप खाली सिलिन्डरको जोहो गर्न, नयाँ अक्सिजन प्लान्ट स्थापना गर्न गराउन र तत्कालको लागि मित्र राष्ट्रहरुको सहयोग लिइ आपूर्ति सहज गर्ने काम र कर्तव्य सरकार कै हो ।
यस बिच, देश भित्रका उद्योगहरुले आफ्नो उत्पादन क्षमता बढाउदा खाली सिलिन्डरको कमि देखिएकोमा विभिन्न सामाजिक संस्थाहरुले कबाडी , घर /स्टोरमा प्रयोगमा नभएका सिलिन्डरहरु संकलन गरिदिएकोले पनि आपूर्ति ब्यवस्थापनमा उल्लेख्य सहयोग पुगेकै हो ।अन्त्यमा , कोभिड बढ्ने क्रम नरोकिएमा हाम्रो स्वास्थ्य सेवा झन जटिल हुने टड्कारो देखिएकोले संक्रमणबाट आफू बचौ र अरुलाइ पनि बचाऔ ।मानिससङ्गको दुरि कायम गरौ ।घर बाहिरका कुनै पनि चिजबिज छोएका छौ भने तत्काल साबुनपानीले हात धोऔ । मानिसको नजिक पर्दा अनिवार्य मास्क लगाऔ । जाडोबाट गर्मीको मौसम सुरु भएको छ , एलर्जी र फ्लूबाट बचौ । घर बाहिर जानू पर्ने कारणहरु आफैले नखोजौ । बरु जे छ त्यसैमा खुसी र आनन्द महसुस गरौ । आत्मबल उच्च राखौ ।
(अधिकारीकाे फेसबुक वालबाट )

