मकवानपुर /सुर्तिजन्य पदार्थको सेवानबाट लाग्नसक्ने रोगहरुको कारण प्रत्येक वर्ष नेपालमा करिब २० हजार जना क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।
जसमध्ये १३ हजार जनाको ज्यान जाने गरेको छ । मुल्य र पहुँच कम तथा सहज भएको कारण सुर्तिजन्य पदार्थको उपयोग हुने गरेकोले यसलाई कर प्रणाली मार्फत निगरानी गर्न आवश्यक भएको औल्याइएको छ । नेपालमाको सन्दर्भमा सुर्तिजन्य पदार्थको उत्पादनको अधिकतम ३० प्रतिशतसम्म कर लगाइने गरेको छ । तर विश्व परिवेशमा यस्ता पदार्थहरुमा ७६ प्रतिशतसम्म कर लगाउने गरेको पाइएको छ ।
नेपालमा कुल जनसंङ्ख्याको ८० प्रतिशत धुमपानबाट प्रभावित हुने गरेको तथ्याङ्क नेपाल अर्बुद रोग निवारण संस्थाले सार्वजनिक गरेको छ । प्रत्यक्ष रुपमा आफैंले सेवन गरेर र नजिकै रहेकाको कारण धुमपानबाट प्रभावित भएकाहरुको संङ्या उक्त तथ्याङ्क रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका विक्रम विष्टले बताए । सुर्तिजन्य पदार्थको उपयोगका कारण आर्जिक दीर्घ रोग निवारणको लागि लाग्ने खर्चले धेरै परिवारलाई आर्थिक रुपमा विपन्न बनाएको विष्टले बताए ।
नेपाल अर्बुद रोग निवारण संस्थाले शुक्रबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । संघीयताको अभ्यासको क्रममा स्थानीय तथा प्रदेश सरकारले कानुन बनाउँदा शिक्षा र स्वास्थ्यको सवालमा फराकिलो बाटाहरु भएको भएपनि यसलाई प्रदेश तथा स्थानीय सरकारले चासो नदिएको बताइएको थियो ।
व्यक्तिलाई सुर्तिजन्य पदार्थको आदत हटाउन समयलाग्ने भएकोले यसको प्रभावबाट सुरुबाटै टाढै रहनु पर्ने संस्थाका महासचिव विमल होडाले बताए । अमुल्य जीवन धुँवाको सर्कोसँगै उड्ने गरेको छ’महासचिव होडाले भने ‘यसबाट आर्थिक नोक्सानी एकातिर छ भने धेरै बालबालिकाहरु टुहुरा हुने गरेका छन् ।’
संस्थाको जिल्ला अध्यक्ष कपिला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा, संस्थाका प्रदशे संयोजक गणेश कोइराला, अर्थ मन्त्रालयमा पूर्व उपसचिव देवी शर्मालगायतको उपस्थिती रहेको थियो ।

