मकवानपुर । हेटौंडा नगर खेलकुद विकास समितिद्वारा आयोजित जारी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा वडा नम्बर ४ र वडानम्बर ७ विजयी भएको छ ।
हेटौंडाको लोकतान्त्रिक हुप्राचौरमा भएकाे प्रतियोगिता अन्तरगत आयतबार भएको पहिलो खेलमा वडा नम्बर ४ ले वडा नम्बर २ लाई ४–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ४ को जितमा अनिस महर्जनले दुई, विवेक देउलाले एक गोल गरेका थिए भने एक गोल २ का खेलाडीले आत्मघाती गरेका थिए ।
महर्जनले खेलको छैठौँ र ५४ औँ मिनेटमा गोल गर्दा देउलाले खेलको ४२ औँ मिनेटमा गरेका थिए । यस्तै वडा नम्बर २ का सुनिल खड्कीले खेलको १३ औँ मिनेटमा एक गोल फर्काएता टोली खेलमा फर्कन सकेन । उत्कृष्ट दुई गोल गरेका अनिस महर्जन म्यानअफ द म्याच घोषित भएका थिए ।
त्यस्तै आईतबार नै भएको दोस्रो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ३ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । वडा नम्बर ७ लाई जित दिलाउनका लागि सुजन कुमार थापाले दुई, अमित लामा ब्लोन र सुजल श्रेष्ठले एक–एक गोल गरे । थापाले खेलको चौथे र ४२ औँ मिनेटमा गोल गर्दा ब्लोनले छैठौँ र श्रेष्ठले ६० औँ मिनेटमा गोल गरेका हुन् । वडा नम्बर ७ लाई जित दिलाउन दुई गोल गरेका सुजन कुमार थापा म्यानअफ द म्याच घोषित भए । जितसंगै वडा नम्बर ४ र ७ दोस्रो चरणमा प्रवेश गरेको छ ।
आज प्रतियोगितामा दुई खेल हुनेछ । समुह डि को वडा नम्बर ५ ले वडा नम्बर ८ संग प्रतिस्पर्धा गर्नेछ भने समुह सि को वडा नं १८ ले १२ संग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाका टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँचरपाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् ।

