मकवानपुर । आगामी मंसिर १६ देखि २७ गतेसम्म हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रस्तावित खेलस्थलको टुंगो लागेकाे छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा हुने प्रतियोगितामा ३२ खेल विधा संचालन गरिने भएकाे छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सहित ११ टोलीका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा करिब छ हजार पाँच सय खेलाडी सहभागी हुने अनुमान गरिएको छ । खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक, निर्णायक, प्राविधिक तथा अन्य पदाधिकारीको समेत सहभागिता रहनेछ । खेल तथा खेलस्थल सम्बन्धी विवरण अनुसार प्रतियोगिताका २० खेल पूर्णरूपमा सुर्खेतमा सञ्चालन हुने भएकाे छ । ४ खेल विधा भने सुर्खेतसँगै नेपालगन्ज तथा कर्णालीका अन्य जिल्लामा सञ्चालन हुने बताइएकाे छ । बाँकी ८ खेल भने सुर्खेतबाहिर सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगिताका लागि कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, सल्याण, पश्चिम रुकुम र जुम्लाका साथै बाँके जिल्लाको नेपालगन्जलाई समेत खेलस्थलका रूपमा प्रस्ताव गरिएको छ। ।
प्रस्तावित विवरण अनुसार सुर्खेतमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई -स्पोट्र्स, स्क्वास, रग्बी, साइकलिङ, तेक्वान्दो, भलिबल, उसु र सेपाकताक्रो सञ्चालन हुनेछन् । यस्तै, शारीरिक सुगठन सुर्खेत र कालिकोटमा तथा जुडो सुर्खेत र जाजरकोटमा सञ्चालन गर्ने प्रस्ताव गरिएकाे छ भने जिम्न्यास्टिक सुर्खेत र दैलेखमा तथा भारोत्तोलन नेपालगन्ज र सुर्खेतमा सञ्चालन हुनेछ ।
सुर्खेतबाहिर सञ्चालन हुने खेलमा आईटीएफ तेक्वान्दो दैलेख, टेबल टेनिस सल्याण, बुद्धिचाल दैलेख, खो-खो पश्चिम रुकुमको चौरजहारी, सुटिङ नेपालगन्ज, पौडी नेपालगन्ज, टेनिस नेपालगन्ज र आर्चरी जुम्ला रहेका छन् । यसैगरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेल सञ्चालन हुने भएकाले खेलाडी तथा पदाधिकारीको आवास, यातायात, खेल सामग्री, सुरक्षा, स्वास्थ्य र प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री एवं दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिका अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता गराउने निर्णय गरेको थियो । बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित सम्बन्धित निकायका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता थियो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि विभिन्न कारणले पटकपटक सर्दै आएको छ । प्रतियोगिता आयोजना हुन नसक्दा खेलाडीको तयारी, छनोट प्रक्रिया र खेलकुद गतिविधिमा समेत असर परेको थियो । यसपटक भने आयोजकले मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खेलस्थलको टुंगो लागेसँगै अब प्रतियोगिताका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन र खेल सञ्चालनको तयारीलाई तीव्रता दिने बाटो खुलेको छ ।
आइतबार वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले प्रतियोगिता निर्धारित मितिमै हुनेमा कुनै शङ्का नरहेको बताए । उनले प्रतियोगितालाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै देशभरका खेलाडीलाई कर्णालीमा स्वागत गर्न सबै सरोकारवालालाई आह्वान गरे ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रतियोगिताका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार प्रदेश रङ्गशालाका लागि नौ करोड, खेल पूर्वाधारका लागि पाँच करोड र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न आवश्यक तयारी र व्यवस्थापनमा प्रदेश सरकारले प्राथमिकता दिएको उनको भनाइ छ ।
प्रतियोगितामा सहभागी हुने पाहुनालाई कर्णालीका पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदा र स्थानीय जीवनशैलीसँग परिचित गराउन सके भविष्यमा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्न सक्छ ।

