मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा नवौं संस्करणको बागमती गोल्डकप प्रतियोगिता हुने भएको छ। बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मंसिर ८ गतेदेखि सञ्चालन गरिने भएको हो।
मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका ६ वटा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएकाे छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बागमती गाउँपालिका–४ स्थित झुरझुरे खेलमैदानमा हुने प्रतियोगितामा मच्छिन्द्र, चर्च ब्वाइज, नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बललगायत मोफसलका ४ टोलीले समेतकाे सहभागिता रहने आयोजकले जनाएकाे छ । बागमती गाउँपालिकाले प्रायोजन गरेकाे प्रतियोगिता नकआउट प्रणालीकाे आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष सर्केश घलानले प्रतियोगिता सञ्चालनका लागि करिब ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । गत बैशाखमा भएकाे आठौं संस्करणकाे बागमती गोल्डकपकाे उपाधी प्रतियोगितामा पहिलाे पटक सहभागि भएकाे चित्लाङ फुटबल क्लब काठमाडौंले जितेको थियो ।

