मकवानपुर । बैशाख २० दिउँसो १२ः२५ बजे हेटौंडा उपमहानगरपालिका १० फरेष्ट्री क्याम्पस गेट नजीकै एउटा दुर्घटना भयो । जहाँ एकै साथ यातायातको ३ वटा साधनहरु ठोक्किए ति थिए ट्रक, टीपर र मोटरसाइकल ।
हेटौडा बजारबाट भारत जाने क्रममा ग.७.प.७३१८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३–००१ ख १३३४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिदा हेटौंडा पशुपतिनगर तर्फ जादै गरेको मोटरसाइकल बागमती प्रदेश ०३–००१ ख २६२३ नम्बरको ट्रकको पछाडी ठोक्किएर पल्टीन पुग्यो ।
मोटरसाइकलमा सवार ३ जना घाईते भए । जसबाट भारतको मोतिहारी जिल्लाको २२ वर्षीय सन्तोष कुमार गुप्ताको बाया खुट्टा र निधारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । यसैगरी सोही मोटरसाइकलमा सवार निजको श्रीमती २५ वर्षीया आशादेवी गुप्ताको दुबै खुट्टा, कम्मर ढाड्मा चोटलागेको छ । यस्तै उनीहरुको २ वर्षीया छोरी २ गुल्ली कुमारी गुप्ताको बाँया खुट्टा र निधारमा सामान्य चोट लागेको छ । तीनवटै सवारी साधन र ट्रक/टिपर चालक जिल्ला प्रहरी कार्यालय मकवानपुर नियन्त्रणमा रहेका छन् ।
बैशाख १७ गते हेटौंडा ३ बसामाडि निवासी शिव रोक्का मोटरसाइकलमा सवार हुने क्रममा हेटौंडा ११ थानाभर्याङमा दुर्घटनान परे । यातायात व्यवसायी समेत रहेका रोक्काको मोटरसाइकल टीपरमा ठोकिएको थियो । हाल उनी मनमोहन हस्पिटल काठमाडौमा उपचाररत छन् ।
यि केही प्रतिनिधिमुलक घटना मात्रै हुन् । ओभरलोडको भारले थिचिएका सवारीमा ब्रेक फेल भएर, तथा अनियन्त्रित भएर हुने दुर्घटनाको तथ्याङ्क डरलाग्दो छ । भारवहन क्षमताभन्दा बढी लोड बोकेको कारण ट्राफिक कार्यालयले आफ्नो तर्फबाट निगरानी गरिरहेको बताइरहेदा पनि व्यवसायीहरुले यसलाई पालन गर्ने गरेको देखिदैन । जिल्ला ट्रफिक कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको १० महिना (साउनदेखि बैशाखसम्म) मा ४९४ वटा सवारीलाई कारवाही स्वरुप जरिवाना कटाएको छ । जसबाट ९ लाख ८८ हजार राजस्व उठेको जिल्ला ट्राफिक कार्यालयमा प्रमुख प्रहरी निरीक्षक बच्चुराम फूयाँलले बताए ।
भोभर लोड : धरापमा ज्यान, सडकमा रगत, राजस्वको रसिदमा कसको हित ?
सडकमा क्षमताभन्दा बढी भार (ओभरलोड) बोकेर दौडिने सवारी साधनहरू यतिबेला ‘गुडिरहेका यमराज’ सावित भएका छन्। पछिल्लो तथ्यांकअनुसार ओभरलोडका कारण भएका १९७ सवारी दुर्घटनामा परेर ३४ जनाले अकालमा ज्यान गुमाएका छन्। यो संख्या केवल सरकारी ढड्डाको अंक मात्र हा । जससँग ३४ वटा घरका आशा र भरोसा सडकमै बिलाएको कारुणिक दृश्य पनि हो। घटनाबाट गम्भीर घाइते भएका ४७ जना र सामान्य घाइते भएका ३४५ को ज्यानको खबर सरकारी तथ्याङ्कमा छैन । यि नै दुर्घटनामा संलग्न अन्य २६८ सवारी साधान पनि थिए ।
ट्राफिक कार्यालयले यही समयावधिमा ६ वटा टीपर/ट्रकलाई आवश्यक कारवाहीको लागि यातायात कार्यलय रिफर गरेको छ । जसबाट १ लाख ७५ हजार २५१ रुपैँया संकलन भएको छ ।
“राजस्व संकलनमात्रै ठुलो कुरा हैन, नियमको पालना नगर्ने, जरीवाना तिरेपछि जति पनि बोक्न पाइने भनेजस्तो भयो, यसलाई सरकारले कडाइन गर्नुपर्छ” हेटौंडा सन्दीप प्रधान भन्छन् “मान्छेको ज्यान गएको छ, सडक संरचनामा क्षति पुगेको छ ।”
सडक सुरक्षाको संवेदनशीलतालाई वेवास्ता गर्दा भएका दुर्घटनामा परेर घाइते भएकाहरुको चित्कार सरकारले सुन्नुपर्ने उनी बताउँछन् । ओभरलोडका कारण सवारीको सन्तुलन बिग्रिने र ब्रेकले काम नगर्ने प्राविधिक समस्याले गर्दा सडकमा निर्दोष यात्रीहरूले रगत बगाउनु परेको छ। अस्पतालका शैयाहरूमा छटपटाइरहेका घाइतेहरूको अवस्थाले सडक अनुशासनको भयावह चित्र प्रस्तुत गर्छ।
राजस्व कि मानवीय मूल्य
भारवहन भार वहान नियमन सम्बन्धी निर्देशिका २०७४ (शंसोधन सहति) को पालना नै नभएको कारण दुर्घटना बढ्दो छ । नेपाल सरकारले वैशाख १० गते पुनः सूचना सार्वजनिक गर्दै उक्त निर्देशिका पालनाको लागि अपिल गरेको छ । तर यसरी आमसञ्चारमार्फत सूचना जारी गरेर मात्रै व्यवसायीहरुले आफ्नो मर्यादाको पालना गर्ने देखिदैन । सूचनापछिको दुर्घटना र ओभर लोडको कारण तिराइएको जरीवाना रसिदले पनि यसलाई स्पष्ट पारेको छ ।
प्रशासनले ओभरलोड नियन्त्रणका लागि जरीवाना राजस्व तोकेको छ, राजस्व संकलन पनि गरेको छ । तर, राज्यको ढुकुटीमा राजस्व जम्म हुनुभन्दा सर्वसाधारणले ज्यान गुमाइरहनुले गम्भिर प्रश्न खडा गरेको छ। सडक क्षतिको अवस्था उस्तै बिजोक छ । खास गरी ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट जस्ता सामग्रीहरु ओभर लोड बोक्ने गरेको पाइन्छ ।
किन रोकिँदैन ओभरलोड ?
यातायात व्यवसायीको बढी नाफा कमाउने होड र कमजोर नियमनका कारण ओभरलोडको समस्या दीर्घकालीन रोग बनेको छ। सडकको क्षमताभन्दा बढी भार बोक्दा सडक मात्र बिग्रिएको छैन, यसले दैनिक रूपमा परिवारका सदस्यहरूलाई कहिल्यै नफर्कने गरी बिदा गरिरहेको छ। प्रशासनले जरिवाना काटेर राजस्व उठाउनुलाई नै उपलब्धि मान्नु र ओभरलोडलाई पूर्ण रूपमा निषेध गर्न नसक्नुले दुर्घटनाको ग्राफ झन् उकालो लागिरहेको छ।
सडकमा बगेको रगत र अस्पतालमा छटपटाइरहेका घाइतेहरूको अवस्थालाई हेर्दा अबको प्राथमिकता केवल राजस्व संकलन मात्र हुनुहुँदैन। ओभर लोडको कारण धासिएका सडकमा दुइ पाङ्ग्रे सवारी चलाउँदा स्वतः अनियन्त्रित हुने र दुर्घटना हुने क्रम समेत बढेको छ ।
ट्राफिक कार्यालयले ओभर लोड बोकेर आएका साधनलाई बढी भएको सामन झारेर उक्त स्थानसम्मको जरीवाना रकम तिराएर मात्रै अघि बढ्न दिने गरेको ट्राफिक कार्यलय प्रमुख फूयाँलले बताए । तर यातायात व्यवसायी एकाधलाई मात्रै यस्तो गरिएको र अतिरिक्त पैसा तिरेपछि सबै सामन अगाडी बढाउन दिने गरेको यातायात व्यवासायीले नै खुलाएका छन् । व्यवसायीहरुबाट हुने त्रुटीमा नियमन तथा निगरानीको लागि सरकारसँग सहकार्य गर्न आफू तयार रहेको नारायाणी यातायात व्यवसायी कम्पनी प्रा.लिका अध्यक्ष गोकर्ण पराजुली बताउँछन् ।
“ट्राफिससँग कुरा नमिले मात्रै सामान झर्छ, वा यातायात कार्यालय पठाउँछ, नत्र हामी सहजै फुत्तिन्छौ” एक सवारी चालकले खुलासा गरे ।
अहिले पनि हेटौंडाका अत्यधिक सिमेन्ट उद्योगहरुले २५ टन क्षमता भएकोलाई ३० टन, २१ टन क्षमता भएकोलाई २५–२६ टन र १० टन क्षमता भएकोलाई १२ वा १३ टन बोकिरहेको यातायात व्यवसायी नै बताउँछन् । तर यस्ता साधनहरु प्रशासन तथा ट्राफिकको नजरमा पर्नेगरेका छैनन् ।

