मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ अब प्रदेशमा ८ वटा मात्रै मन्त्रालयहरु रहने छन् । मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ वटा मन्त्रालयबाट घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो । यो सँगै जिल्ला स्थित सरकारी कार्यालयहरुकाे समेत सङ्ख्या घटाइएको छ ।
सत्तारुढ दल एमालेसमेतको सहमतिमा ९ साउनबाट लागु हुनेगरी ६ वटा मन्त्रालय घटाएको हो । लामो समयदेखि कांग्रेस-एमालेबीच मन्त्रालय घटाउने विषयलाई लिएर विवाद हुँदै आएको थियो । मन्त्रालय घटाउन मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजेका लागि बोलाइए पनि एमालेले ९ वटा कायम गर्नुपर्ने अडान लिएपछि करिब २ घण्टा ३५ मिनेट ढिलो गरी सुरु भएको थियो ।
मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या ८ कायम गर्ने अडान लिएपछि एमालेका मन्त्रीहरू बाध्य भएका थिए । स्रोतका अनुसार बागमती प्रदेशमा रिक्त रहेको सभामुख पद एमालेलाई दिने, मुख्यमन्त्रीमा आफ्नो निरन्तरता र मन्त्रालय संख्या घटाउने विषयमा सत्तारुढ दलबीच सहमति बने पनि अन्तिम समयमा एमालेले मन्त्रालयको संख्यालाई लिएर विवाद सिर्जना गर्न खोजेको थियो ।
अब बागमती प्रदेशमा बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिरिषद्सहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्क्षी वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय मात्र हुनेछ ।

