मकवानपुर । बागमती प्रदेशमा आज बैशाख २४ गते सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
बागमती प्रदेश राजपत्रको खण्ड ९ संख्या ९ प्रदेश राजपत्र भाग ३ अनुसार २०८२ चैत २३ गते प्रकाशित सूचना बमोजिम बैशाख २४ गते आज बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
आज प्रदेशभर सरकारी, सार्वजनिक संस्था तथा विद्यालय बन्द छन् । बागमती सरकारले २०८० बैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषासम्बन्धी ऐन कार्यान्वयन गर्दै भाषा दिवस मनाउँदै आएको छ । प्रदेश सरकारले सरकारी कामकाजी भाषा नेपालीसहित तामाङ र नेवारी भाषालाई कानुनी रुपमै मान्यता दिएको छ । बागमती प्रदेशले सरकारी कामकाजी भाषा तीन वटा बनाएको छ ।
यो प्रदेशमा सबै भन्दाबढी तामाङ समुदायको बसोबास छ । बागमती प्रदेशमा कूल जनसंख्याको २० दशमलव ५४ प्रतिशत तामाङ बस्छन् । यस प्रदेशमा १८ दशमलब ३२ प्रतिशत ब्राहृमण समुदाय बस्छन् । प्रदेशमा क्षेत्री समुदाय १७ दशमलव १३ प्रतिशत र नेवार समुदाय १७ दशमलव ७ प्रतिशत रहेका छन् । मगर, विश्वकर्मा र गुरुङको जनसंख्याको प्रदेशको कूल जनसंख्याको क्रमशः ४ दशमलव ८७, २ दशमलव ५ र २ दशमलव २२ रहेको छ ।

