मकवानपुर । बागमतीको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेकाे छ । मुख्यमन्त्री बानियाँको काठमाडौं र हेटौंडास्थित निर्माण सम्बन्धी कार्यालयमा सोमबार विभागले छापा मारेको हो ।
अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले उनीमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको हो । कांग्रेसका नेता एवं बागमती प्रदेशका सभापति समेत रहेका बानियाँको काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौंडा–५, पिप्लेस्थित घर–कार्यालयमा एकैपटक विभागले छापा मारेको प्रहरीले पुष्टि गरेको छ । बानियाँको हेटौंडा–५ स्थित पिपलेको घरमा विभागका चारजना कर्मचारी र तीनजना प्रहरी पुगेको स्रोतको भनाइ छ । सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आइतबार नै आग्रह गरेको थियो । प्रहरीले सादा पोशाकमा समेत आवश्यक जनशक्ति परिचालन गरेको थियो ।
उनी ‘क’ वर्गको निर्माण व्यवसायी हुन् । उनको बानियाँ निर्माण सेवा कम्पनी रहेको छ । हेटौंडास्थित निवासमा विभागको टोलीले करिब दुई घण्टा बिताएको स्रोतले जनायो । स्रोतका अनुसार मध्यान्ह करिब १२ बजे पुगेको टोली करिब २ बजेसम्म रहेको थियो । प्रहरी स्रोतका अनुसार उनको छोरा सेयरको ठूलो कारोबारी समेत हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागको टोलीले बानियाँको घर तथा उनकै स्वामित्वमा रहेको निर्माण कम्पनी कार्यालयमा छापा मारेपछि विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।
विभागले छापा मारेपछि मिडियामा कुनै प्रतिक्रिया नदिएका बानियाँले दिउँसो भने प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी उजुरीका आधारमा विभागले अनुसन्धान गरेको हो । विभागको टोलीले मुख्यमन्त्री बानियाँको घर तथा निर्माण कम्पनीको कार्यालयबाट केही कागजात अनुसन्धानका लागि लगेको छ, तर के कस्ता कागजातको लगिएको भन्ने विवरण खुलाइएको छैन ।
मुख्यमन्त्रीले जनाए आपत्ति
यसैबीच आफ्नो निजी घर र कार्यालयमा छापा मारिएको प्रति बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । आफू मुख्यमन्त्री भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेको जिकिर गर्दै बानियाँले सोही अनुसार आफूले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययिताका लागि निरन्तर काम गर्दै आएको जनाएका छन् ।
“तीन तहको सरकार समन्वय, सहअस्तित्व र सहकार्यका आधारमा चलेको हुन्छ” मुख्यमन्त्री बानियाँले विज्ञप्तिमा भनेका छन्, “संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वकर्ताको रूपमा मुख्यमन्त्रीको सधैँ साथ रहन्छ ।” राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा आफू सहयोग गर्न तत्पर रहेको पनि मुख्यमन्त्री बानियाँले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राजनीतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई आफूले सकारात्मक रूपमा लिएको उनले बताएका छन् । उनले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धतासमेत जनाएका छन् । “सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेशवासी एवं मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुनु अनुरोध गर्दछु” बानियाँले भनेका छन् ।

