वाचा कसम टुटी जान्छन् प्रेमकाे सुगन्ध रहिरहन्छ
कयौं साथ छुटी जान्छन् प्रेमकाे सुगन्ध रहिरहन्छ
कहिले काहीँ नसोचेकाे भइदिन्छ हाम्रो जिन्दगीमा
आफ्नैहरुले लुटी जान्छन् प्रेमकाे सुगन्ध रहिरहन्छ
नेपालकाे नवलपरासी जिल्लामा रहेर साहित्य कर्ममा रमाउँदै आउनु भएका व्यक्ति निर्दोष जीवन । उहाँसंग व्यक्तिगत रुपमा मेरो चिनजान सामान्य छ । सामान्य यस अर्थमा कि खासै लामो समय संगत छैन । एक पटक बागमती प्रदेशको राजधानी हेटौंडामा चितवनका गजलकार अविरत सुमनसँग एक दिनको दिउँसो १५-२० मिनेटको चिया गफ भएको छ भने चितवनको सम्पूर्ण किताब नारायणगढमा एक विहानको त्यस्तै १०-१५ मिनेट गफ भएका छन् ।
सामाजिक संजालमा जोडिएको केही समयपछि यी दुई भेट अप्रत्याशीत भएका हुन् । त्यो बाहेक हाम्रो सशरीर भेट तथा औपचारिक अनौपचारिक कुराकानी हुन पाएको छैन । उहाँले उक्त मुक्तक सङ्ग्रहको विमोचन हुने समय निमन्त्रणा दिएर पनि पुग्न नसकेको म पुस्तक प्राप्त हुँदा उतै भएको अनुभूति गरिरहे ।
साहित्यलाई माया गर्ने मैले पुस्तक पढेपछि केही न केही लेख्छु । समिक्षाको पाटो अलग हो, एउटा पाठकको रुपमा पुस्तक पढ्दा विधागत रुपमा जे जे पाए सरसर्ती लेख्ने जमर्को रहन्छ । मेराे लागि माया गरेर प्रेमकाे सुगन्ध पठाइ दिनु भएकाे थियाे सम्पूर्ण किताबका लेखराम सापकाेटा र सुमन घिमेरेकाे साथमा । त्यही मायाले प्राप्त गरेकाे प्रेमकाे सुगन्ध अध्ययन गर्दा केही लेख्न मन लाग्याे । पुस्तक प्राप्तीकाे केही समय पछी पाठककाे आँखाबाट पढ्दा जस्ताे बुझियाे त्यसैकाे आधारमा साहित्यलाई माया गर्ने साहित्यप्रेमी भएकाे नाताले आफ्नाे विचार व्यक्त मात्र गर्न खाेजेकाे छु ।
कुनै समय शम्भु गिरी ‘अभागी’ नामले चितवनबाट साहित्यमा पढिएको र सुनिएको नाम निर्दोष जीवन भएको भन्ने थाहा पाउन उहाँको प्रेमको सुगन्धको दोस्रो सस्करण हात पार्नु परेको छ । गीत गायन र संगीत प्रति पनि आवद्ध जीवनकाे प्रेमकाे सुगन्ध दशौं कृति हाे जुन संग्रहमा पनि आएकाे छ ।
प्रेमकाे सुगन्धमा जम्मा एक सय पृष्ठ छ । भूमिका समेत अन्य गरे केही थपिएका छन् पृष्ठ । एक सय पृष्ठभित्र दुई सय मुक्तक सजिएका छन् । गजल मञ्च चितवनले प्रकाशन गरेकाे तथा सम्पूर्ण किताब नारायणगढ वितरक रहेकाे संग्रहका भूमिकाले यसकाे वजन बढाएको छ ।
मुक्तक साहित्यको एउटा अत्यन्तै लोकप्रिय र मर्मस्पर्शी विधा हो।
’मुक्तक’ शब्द संस्कृतको ‘मुक्त’ धातुबाट बनेको हो, जसको अर्थ ‘स्वतन्त्र’ भन्ने हुन्छ। साहित्यको विधाहरु मध्ये मुक्तक कविताको उप विधा हो । मुक्त छोटो रुपमा आफ्नै संरचनामा रचना गरिन्छ जुन आफैमा पूर्ण हुन्छ ।
नेपाली साहित्यमा लेखिने मुक्तकहरू चार हरफमा लेखिन्छ
* पहिलो र दोस्रो हरफ: विषयवस्तुको उठान र पृष्ठभूमि तयार गर्छन्। यी दुई हरफमा ‘अन्त्यानुप्रास’ मिलेको हुन्छ।
* तेस्रो हरफ: यो हरफ स्वतन्त्र हुन्छ र यसले चौथो हरफमा आउने मुख्य प्रहारका लागि आधार तयार गर्छ।
* चौथो हरफ: यो सबैभन्दा शक्तिशाली हरफ हो, जसले सिङ्गो मुक्तकको अर्थ वा सन्देशलाई झट्का दिने गरी प्रस्ट पार्छ। यसमा पनि पहिलो र दोस्रो हरफकै अनुप्रास दोहोरिन्छ।
* आकारमा सानो: थोरै शब्दमा धेरै कुरा भनिएको हुन्छ।
* स्वतन्त्रता: एउटा मुक्तकले एउटा पूर्ण विचार व्यक्त गर्छ।
* तीक्ष्ण प्रहार: यसले पाठकको मनमा सिधै र गहिरो प्रभाव पार्छ।
* गेयात्मकता: मुक्तकमा लय मिलाएर गाउन वा वाचन गर्न सकिने गेयात्मकता हुन्छ
नेपाली साहित्यमा मोतीराम भट्टलाई आधुनिक मुक्तकका प्रवर्तक मानिन्छ। अचेल सामाजिक सञ्जाल र साहित्यिक कार्यक्रमहरूमा मुक्तक निकै रुचाइने विधा बनेको छ।
नेपाली मुक्तक साहित्यमा ‘निर्दोष जीवन’ एक परिचित नाम हो। उहाँको पछिल्लो कृति ‘प्रेमको सुगन्ध’ ले पाठकको मनमा एउटा छुट्टै छाप छोड्न सफल देखिन्छ। प्रकाशन भएकाे एक महिना भित्रै दोस्राे संस्करण प्रकाशन हुनुले समेत यसलाई पुष्टी गरेकाे छ । नामजस्तै पुस्तकभित्रका प्रत्येक मुक्तकले प्रेमको एउटा नयाँ र पवित्र सुगन्ध छरेका छन्।
यस सङ्ग्रहमा प्रेमलाई अतिरञ्जित नगरी निकै स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ। प्रेममा हुने मिलनको खुसी, बिछोडको पीडा र समर्पणको भावलाई लेखकले चार लाइनको कसिलो घेराभित्र जीवन्त पारेका छन्। केवल रोमान्टिक प्रेम मात्र नभएर, जीवनका भोगाइ र सानातिना खुसीलाई पनि मुक्तकको विषय बनाइनु यस पुस्तकको सबल पक्ष हो। संग्रहमा प्रेम मात्रै अटाएका छैन विकृति विसंगती देश प्रेम लगायत पनि समेटिएका छन् ।
विदेशभन्दा प्यारो लाग्छ आफ्नै सुन्दर देश
झनै प्यारो लाग्छ मलाई आफ्नै भाषा भेष
विदेशीकाे संस्कृति त भो भो चाहिँदैन
नेपालीकाे संस्कृति नै लाग्छ मलाई बेस
मुक्तक विधामा ‘मार’ को ठुलो महत्त्व हुन्छ। ‘प्रेमको सुगन्ध’ का अधिकांश मुक्तकहरूमा चौथो हरफमा पुग्दा पाठकले एउटा मीठो झट्का वा गहिरो अर्थ प्राप्त गर्छन्। अनुप्रास र लय विधानमा लेखकको पकड राम्रो देखिन्छ, जसले गर्दा यी मुक्तकहरू वाचन योग्य र कर्णप्रिय बनेका छन्। तर केही मुक्तक लेख्न सिक्दा सिक्दै गरेकाे अवस्थाकाे जस्तो समेत पाइन्छ । प्रेमका सुरुका अवस्था र अन्त्य अवस्था सम्मका मुक्तकले प्रेममय भएकाे छ संग्रह ।
आवाज विहिन प्रेमकाे गहिराई नाप्न सकिदैन् । त्यसकाे अनुभूति गर्न सकिन्छ । प्रेम भोगाई सँगै समर्पण पीडा स्मृतिकाे मौन स्वीकृत समेत भएकाे संग्रहकाे अध्ययनबाट प्राप्त गर्न सकिन्छ । त्यसैले प्रेमकाे सुगन्ध कृति मात्रै हाेइन अनुभूति पनि हाे । सरल भाषा र सहज बुझाइ तथा गहन भाव समेटिएकाे ‘प्रेमको सुगन्ध’ प्रेमको खोजीमा रहेका र जीवनलाई सूक्ष्म रूपले बुझ्न चाहने पाठकका लागि एउटा उत्कृष्ट सङ्ग्रह हो। कतिपय ठाउँमा भावहरू दोहोरिए जस्तो लागे पनि यसको सरलता र इमानदारीले ती कमजोरीहरूलाई ओझेलमा पारिदिन्छ।
सङ्ग्रहमा प्रेमिल मुक्तकहरू यथेष्ट छन् । सामाजिक विषयवस्तुका मुक्तक पनि छन् । जीवनले आफ्नो पुस्तकमा प्रेमको विषयमा खुलेर लेखेका छन् । प्रेमलाई हृदयदेखि मनन गर्न र जीवनमा लागू गर्न सकियो भने साँच्चै जीवनमा प्रेमको सुगन्ध रहिरहने छ । ‘प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको कहिल्यै अन्त्य हुँदैन ।’
अन्त कतै यति सुन्दर जून पाइँदैन
खबरदार उनकाे नजिक हुन पाँइदैन
ए दुनियाँ आँखा तरि कति मरिहत्ते गर्छस्
दाग लाग्छ अप्सरालाई छुन् पाइदैन्
साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोषले गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका हुन् । उहाँकाे ‘आशीर्वाद’ (गजल, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । ‘नयाँ जीवन’ ‘प्रार्थना’ ‘मैयाँ’ ‘कोर्राको चोट’ ‘फस्ट लभ’ ‘प्रिय साथी’ ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् भने नेपाली मुक्तक साहित्यलाई अगाडि बढाउन यो कृतिले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएकाे छु।
अन्त्यमा गीत गजल मुक्तक हाइकु कथा उपन्यास लगातयकाे विधामा कलम दौडाउँदै आउनु भएका लेखकलाई कृतिगत सफलताका साथै निरन्तर साहित्यिक सृजनाकाे शुभकामना ।

