मकवानपुर । जीवनको कुन पल अन्तिम हुन्छ पत्तो हुुदैन र पनि यात्रा त जीवनको अनिवार्य पाटो हो । यात्राकै क्रममा हुने मृत्यु झन् भयानक हुने गर्दछ ।
चाडपर्वको रौनक बोकेर घर परिवार र आफन्तको माझमा रमाउन यात्रा तय गरेकाहरु बिचबाटोमै अस्ताउँदाको पीडा शब्दमा प्रकट संभव छैन । विहीबार यस्तै पीढादायि पलको साक्षि बन्यो मकवानपुरको भिमफेदी । घुमाउरो अनि ओरालो बाटो, पटक पटक दुर्घटना भइरहेको स्थान । यही स्थानमा आइपुग्दा सकियो १४ जनाको जीवनलिला ।
विहीबार विहान सबेरै ललितपुरको टीकाथलीबाट सर्लाहीको लागि छुटेको विद्युतीय सवारी (हायस) पौने ६ बजे मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आइपुगेर दुर्घटना भयो । गाडीमा सवार २० मध्ये १४ जनाको घटना स्थालमै मृत्यु भयो ।
यो घटनाले अनेक प्रश्नहरु फेरी उठाएको छ । हेटौंडा काठमाण्डौ छोटो दुरीको यात्रामा आत्तिने मन, व्यक्ति, परिवार र आफन्तसमेतलाई यात्राभरी हुने तनाव मात्रै हैन, जिम्मेवार निकायहरुको बेवास्ताको हदमाथि पनि प्रश्न उठेको छ । जोखिमपूर्ण यात्राको विकल्प नखोजिएको, दुरीको हिसाबले लगाइने समयसिमा (टाइमकार्ड) लाई प्रहरी र प्रशासनले बेवास्ता गरेको, प्रदेश सरकारले समेत आफ्नो जिम्मेवारी पुरा नगरेको प्रश्नहरुको ताँतीले यतिखेर सामाजिक सञ्जालहरु तातेका छन् ।
सलार्ही जिल्ला चक्रघट्टा गाउँपालिकाका १३ जनाले र कविलासी नगरपालिकाका १ जनाले ज्यान गुमाएपछि मधेश प्रदेश सांसद तथा पूर्व अर्थमन्त्री संजय कुमार यादब पीडित परिवारको साथमा हेटौंडा आइपुग्नु भएको छ ।
छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीको चन्द्रघट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब पाँच सय मिटर तल खोल्सामा खस्दा १४ जनाको मृत्यु भएको थियो ।
प्रादेशिक अस्पतालमा शव राख्ने स्थानको समेत अभाव भएपछि चाँडै शव बुझिदिन गरिएको अनुरोध मृतकका परिवारले मान्न तयार भएका थिएनन् । घटनाको छानविन र क्षतिपुर्तिको सवालमा कुरा नमिलेपछि हेटौडा उपमहानगरपालिका १ स्थित हेटौडा अस्पतालमा बागमति प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, मधेश प्रदेश सभा सदस्य संजय कुमार यादब, हेटौंडा अस्पतालका रजिष्ट्रार भिमसागर गुरागाइ, हेटौंडा अस्पतालका निमित्त निर्देशक डा हरिबहादुर खड्का, अस्पतालका सुचना अधिकारी डा सुरेन्द्र बढु, सर्लाही जिल्ला चक्रघट्टा गाउँपालिकाका पुर्व अध्यक्ष, मृतक परिवारका व्यक्तिहरुसमेतको उपस्थितिमा छलफलको लागि बैठक बसेको थियो ।
बैठकपछि मृतकको परिवारले पोष्टमार्टनको लागि सहमति दिने भएका छन् । शव पोष्टमार्टनपछि शव गृहजिल्ला लगिने छ । छलफलमा मन्त्री गिरबहादुर तामाङले दुर्घटना प्रति शोक व्यक्त गर्दै बागमति प्रदेश सरकारले यो दुर्घटना प्रति ध्यानाकर्षण भएको र घटनाकै दिन गठित छानविन समितिले रफ्तारमा काम गर्ने आश्वासन दिनुभयो । राज्यवाट मृतक परिवारलाई हुने व्यवस्थापन, मृतक परिवारलाई घरसम्म जान र हेटौंडा बसुञ्जेल खाना र बासको व्यवस्थापन गर्ने सहमति भएको छ । जसअनुसार हेटौंडामा रहेका मृतक पिडित परिवारका ४५ जना गाँसबासको व्यवस्थापन हेटौंडा उपमहानगरपालिकाले मिलाएको छ । बागमति प्रदेश मुख्यमन्त्री किरण थापाले पिडित परिवारको मागलाइ सम्बोधन गर्ने प्रतिवद्दता गर्नेुभयो ।
निमित्त निर्देशक खड्काले कानुनि प्रक्रिया बमोजिम पोष्टमार्टम गर्न सर्जिकल रुपमा आफूहरु तयार भएको, अस्पतालको क्षमता अनुसार हेटौंडा अस्पतालमा जम्मा ४ वटा मात्रै शव राख्न मात्र सकिने अवस्था रहेकोले समस्या भएको बताउनु भयो । जतिसक्दो चाडो पोष्टमार्टम गर्नुपर्ने अवस्थामा हामी छौ” खड्काले भन्नुभयो । “मृतक परिवारले आफ्नो कानुनी प्रक्रिया सम्बन्धित निकायबाट टुङ्ग्याउन अनुरोध गरेछौ ।”
छलफलमा पूर्वमन्त्री यादबले पिडित परिवारलाइ आवश्यक क्षतिपुर्तिको माग गर्नुहुदै राज्यले सर्वसुलभ तरिकाले यातायातको सुविधा मिलाउनु पर्नेमा खबरदारी गर्नुभयो । एकै परिवारको ६ जनाको परिवार नै मृत्यु भएको अवस्थामा तथा सबै अभिभावक गुमाएर ज्यान बचेका १६ महिनाको बालकको भविष्यको सुनिश्चितता गर्न राज्य गम्भिर हुनेपर्छे यादबले बताउनु भयो ।
चक्रघट्टामा शुक्रबार सार्वजनिक बिदा
एकै पालिकाका १३ जनाको मृत्यु भएपछि शोकमा डुबेको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक विदा दिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको हो ।
दुर्घटनमा मृत्यु भएका चालक एकजना सर्लाही जिल्ला कविलासी नगरपालिकाका बासिन्दा हुन् भने अरु सबै एकै पालिकाका थिए ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पालिकाभरि एक दिन शोक बिदा दिइएको थियो । गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय र सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहेका छन् । तर स्वास्थ्य संस्थाका आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहे ।
चक्रघट्टा गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
संघीय सरकारको आश्वासन
मकवानपुरको भीमफेदी दुर्घटनाका पीडितलाई उपचार खर्च, क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउने आश्वासन संघीय सरकारले दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विज्ञाप्ति प्रकाशन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार भीमफेदी दुर्घटनाका घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउने बताएको हो । सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइएको छ ।
यसैगरी दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जनाइएको छ ।
“सरकार दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध छ” विज्ञप्तिमा भनिएको छ ।

