मकवानपुर । बागमती प्रदेश सभाका ६ जना सांसदहरुले पदबाट राजिनामा दिएका छन् । फागुन २१ गतेकाे लागि ताेकिएकाे प्रतिनिधि सभा निर्वाचनमा भाग लिन उनीहरुले सांसद पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा नेपाली काँग्रेसका सांसद कुन्दनराज काफ्ले, नेकपा एमालेका प्रकाश श्रेष्ठ र अमन कुमार मास्के, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) (तत्कालीन नेकपा एकीकृत समाजवादी) का वसन्त मानन्धर र युवराज दुलाल (तत्कालीन नेकपा माओवादी केन्द्र) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसी रहेका छन्।
बहादुर सिं लामा मुख्यमन्त्री हुँदा आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका दोलखाका काफ्लेले सोमबार हेटौंडा-१० स्थित प्रदेशसभाकाे सचिवालयमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा बुझाएका छन् । अरु ५ जनाले इमेल मार्फत राजीनामा पठाएकाे बताइएकाे छ ।
दुलाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनाएको छ । दुलाल २०७४ देखि २०७७ सम्म प्रदेशको सामाजिक विकास मन्त्री र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । यसैगरी काठमाडौं ७ (२)बाट निर्वाचित २०७४ र २०७९ मा प्रदेश सांसद निर्वाचित भएका श्रेष्ठ आसन्न निर्वाचनमा काठमाडौं–७ मा प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवार निश्चित भएको हो । उनी २०८१ देखि २०८२ सम्म प्रदेशको मन्त्री बनेका थिए ।
यस्तै काठमाडौं–६ (२)बाट निर्वाचित भएका मास्के आगामी निर्वाचनमा काठमाडौं–६ मा एमाले प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवार बन्ने छन् । उनी २०८० देखि २०८१ सम्म प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए । दोलखा १ (१)बाट प्रदेशसभा सदस्य निर्वाचित काफ्ले आगामी निर्वाचनमा दोलखाबाट उम्मेदवार बन्ने तयारीमा छन् । काफ्ले बागमती प्रदेशको २०८० देखि २०८१ सम्म आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए ।
यसैगरी २०७४ र २०७९ मा प्रदेशसभा सदस्य मानन्धर २०७४ मा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवादीबाट काठमाडौं–७ (२) बाट प्रदेशसभा निर्वाचित भएका थिए । हाल नेकपामा आवद्ध उनी काठमाडौं–७ बाट चुनाव लड्ने भएका छन् । उनी प्रदेशसभाको पहिलो कार्यकालको २०७८ देखि २०७९ सम्म खानेपानी उर्जा तथा सिंचाई मन्त्री रहेका थिए ।
राप्रपाबाट काठामडौं–२ (१) बाट निर्वाचित केसी रास्वपाबाट काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्ने तय भएको छ । पूर्व मेयर बालेनको टिमबाट रास्वपाले उनलाई काठमाडौं–२ मा टिकट दिएको हो । पछिल्ला समय उनी राप्रपा भन्दा पनि बालेन टिममा सक्रिय रहदै आएका थिए ।

