मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका महेश बर्तौलाले आफ्नो जित निश्चित भएको बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि उनले आफ्नो जीत निश्चित भएकाे दाबी गरेका हुन् ।
सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले २०७९ सालको निर्वाचनमा जनताले पाँच वर्षका लागि म्यान्डेट दिएर पठाएको भए पनि पूरा कार्यकाल काम गर्न नपाएको गुनासो समेत गरे। जनताको काम गर्न नपाउँदै संसद विघटन भइ ताजा जनादेशकाे लागि निर्वाचन हुन लागेकाेले आफू जनताको घरदैलोमा जान लागेको उनले जनाकारी दिए ।
‘विधि र प्रक्रिया अनुसार निर्वाचन घोषणा भएको छ, यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनु पर्छ’ उनले भने ‘लोकतन्त्रलाई जीवन्त बनाउन स्वच्छ र मर्यादित प्रतिस्पर्धाको पक्षमा रहेकाे छु।’ बर्तौलाले चुनावी प्रतिस्पर्धीमा मनोनयन गराएका अरु उम्मेदवारलाई शुभकामना समेत दिएका छन् । एमालेको तर्फबाट आफूले गरेको प्रस्तुति र विगतको भूमिकाका आधारमा जनताले भरोसा गर्दै कानून निर्माण गर्ने थलोमा पुर्याउनेमा विश्वश्त रहेकाे उनकाे भनाई छ ।

