बिष्णु अवस्थी
मनले प्रश्न गरिरहेछ,
सँग हिडेका पाईलाहरू,
अन्तै मोडिन लागे,
उज्यालो लाग्ने दिनहरू,
अध्यारो हुदै जान लागे,
जब समयले आफ्नो गति बढायो,
दुरिले स्वागत गर्न लागे,
तब निकटतामा सजिएको माया,
खै किन विकटता झै लाग्न लागे ?
सायद मायाको परिभाषा,
मैले दिन खोजे जस्तो भएन कि,
या तिमिले लिन खोजे जस्तो भएन कि ?
मायालु शब्दहरूले लुकामारि खेल्ने समयमा
खडेरीको मरूभुमि बन्ने अवस्था किन आयो ?
फक्रिदै गरेको मायाको बीउ,
हराभरा बन्दै गरेको मायाको बगैचा,
किन आँफै मुर्छित छ अचेल ?
यो मन प्रश्न गरिरहेछ ।
तिम्रा सुन्दर भावहरू,
तिमीसँग जोडिएका सुन्दर आभासहरू,
तिमीसँग भरिएका यादगार पलहरू,
सधै भरि यो दिलको बगैचामा हराभरा छन्,
रहिरहने छन् युगभरी ।
यी भावहरू,
यी आभासहरू,
मनको गल्लि गल्लिमा सजिएर बस्ने छन्,
तिम्रै नामको ध्वनि बनेर गुन्जिरहने छन्,
प्रतिध्वनी बनेर ठोकिने छन् कर्णपर्दामा,
आदत बनेर सजिसहने छन् मनको कुनामा ।
तिमीले छोडेको बिच बाटो आज पनि एक्लो छ,
त्यो चौतारी आज पनि रित्तो छ,
यो अंगालो आज पनि खालीखाली छ,
एकजोर आँखा आज पनि एकोहोरो,
त्यै बाटो, त्यै चौतारी नियाली रहेछ,
भन्छ मनले तिमी टुप्लुक्क आईपुग्छौ कि,
मन प्रश्न गरिरहेछ :
मोडमा पाइलाहरू मोडिए कि छोडिए ?
घुम्तीमा पाइलाहरू अलमलिए कि अल्झिए ?

