अमेरिकामा इतिहासकै लामो ४३ दिने सटडाउन अन्त्य भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संघीय खर्च विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा ४३ दिने ‘सटडाउन’ अन्त्य भएको हो।
आर्थिक वर्षको अन्त्यपछि नयाँ आर्थिक वर्षको बजेट पारित नभए सरकारी खर्च बन्द हुन्छ। यसलाई सटडाउन भनिन्छ। सेप्टेम्बरको अन्त्यदेखि अमेरिकामा सटडाउन भएकाे थियो। अमेरिकाको माथिल्लो सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभबाट विधेयक पारितमा ढिलाइ हुँदा लामो समयसम्म सरकारले खर्च गर्न सकेको थिएन।
सटडाउन हुँदा संघीय कर्मचारीहरूलाई तलब खुवाउन समस्या परेको थियो। यसले सरकारी कार्यालयहरू बन्द हुने अवस्थामा पुगेका थिए। बुधबार हाउस अफ रिप्रिजेन्टेटिभको २२२-२०९ को बहुमतले संघीय खर्च विधेयक पारित भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
प्रतिनिधिसभाले अत्यावश्यक सेवा पुनः सञ्चालन, सरकारी कर्मचारीको तलब भुक्तानी र हवाई यातायात प्रणाली पुनर्जीवित गर्ने निर्णय पारित गरेको छ। स्वास्थ्य बीमा, ऋण सीमा लगायतका सरकारले लिएको नीतिम डेमोक्र्याटिक सांसदहरू विपक्षमा उभिएका थिए। केही रिपब्लिकन सांसदहरूरूले पनि विधेयकमा सहमति नजनाएपछि पारित हुन सकेको थिएन।
यो विधेयक पारित भएपछि करिब ८ लाख संघीय कर्मचारीहरू बिहीबारदेखि काममा फर्कनेछन्। तर पूर्ण सरकारी सेवा कहिले पुनः सामान्य अवस्थामा पुग्छ भन्ने स्पष्ट छैन।
यो सम्झौताले आगामी जनवरी ३० सम्मका लागि मात्रै खर्च स्वीकृत गरेको छ। यसले अमेरिकी कुल ऋणमा हरेक वर्ष करिब १.८ ट्रिलियन डलर थपिने अनुमान गरिएको छ। सटडाउन अन्त्यसँगै हवाई उड्डयन र खाद्य सहयोग जस्ता सेवाहरू पुनर्जीवित हुने आशा गरिएको छ। सटडाउनका कारण अमेरिकी अर्थतन्त्रसम्बन्धी तथ्याङ्क प्रकाशन पनि रोकिएको थियो।
यसअघि ट्रम्पकै पहिलो कार्यकालमा सन् २०१८ मा ३५ दिन सटडाउन भएको थियो।

