कम्बाेडिया । कम्बाेडियामा तीज पर्व धूमधामका साथ मनाइएकाे छ । गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद कम्बोडियाले हिन्दु महिलाहरुले मनाउने हरितालिका तीज २०८२ को आयोजना गरेकाे हाे ।
कम्बोडियाकाे न्होम पेन्ह शहरमा नेपाली दिदिबहिनिलाई दर खुवाएर, मनोरन्जनात्मक खेल संगै नाचगान गरेर हर्षोउल्लासपूर्वक तीन पर्व मनाइएको हाे । यहाँ बसोबास गर्ने नेपालीहरकाे लागि आयोजना गरिएकाे तीज कार्यक्रममा २ महिनाकी शिवा गैरेदेखि ८० वर्षकी लक्ष्मी ज्ञवालीसमेतको सहभागिता रहेको थियो । कार्यक्रममा NRNA की उपाध्यक्ष उमा बुढाथोकी श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । सानी नानी प्रिस्का घिमिरेले एकल नृत्य प्रस्तुत गरेकी थिइन् ।
हरितालिका तीजको दिन पनि कम्बोडियाको न्होम पेन्हमै अवस्थित शिव मन्दिर गएर पूजाआजा गरेर नेपाली महिलाहरुले तीज पर्व मनाएका छन् । यस वर्षको तीज कार्यक्रममा नेपालबाट आउनुभएकी लक्ष्मी ज्ञवाली एवं आर्या आत्रेयले पनि कार्यक्रम र पूजाआजामा आफ्नो सहभागिता जनाएका थिए । तीज पर्व हामी नेपाली महिलाहरुको ऐतिहासिक र सांस्कृतिक गहना भएकाेले यसको संरक्षण र महिमाको गरिमा जोगाउनु हामी सबैको कर्तब्यको रूपमा रही आएकोले तीज कार्यक्रम आयोजना गरिएकाे उपाध्यक्ष उमाले बताइन् ।
दिगो आस्था, निष्ठा प्रतिबद्धता तथा मन, वचन, कर्मले मात्र असल कार्यको सफलता प्राप्त हुन्छ भन्ने संदेश दिने हामी नेपाली महिला हरूको पर्व हरितालिका (तीज) को बिशेष महत्व रहेको छ । हाम्रा आराध्यदेव श्री पशुपतिनाथ (शिव) र माता पार्वतीसित जोडिएकोले पनि सो चाड हाम्रो नेपाली जनमानसमा विशेषगरी नारीसमाजमा विशेष पर्वको रूपमा मानिँदै आएको छ । तीजका दिन महिलाहरुले लगाउने रातो साडी सुख, समृद्धि एवम् साहसको प्रतीक मानिन्छ । रातो रङ्गले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।
मानवजाति जति नै आधुनिकतामा रुमल्लिँदै गए पनि उसले आफ्नो जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । समयको परिवर्तनशीलता र गतिशीलता सँगै मानव समाज र सभ्यताहरू पनि परिवर्तन हुँदै आएका छन । हिजो माइती घर, ब्रत, पूजा, पँधेरो, चौतारो अनि मन्दिरहरूमा सीमित हुने तीज पर्व आज ती स्थानहरुबाट अझै माथि उठेर बिस्तारै शहर बजार, ब्यवसाय, विद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू हुँदै देश विदेशमा समेत व्यापक बन्दै गएको छ। नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य समुदायले पनि मनाउन थालेको पाइन्छ जसलाई एकदमै सकारात्मक सामाजिक पक्ष मान्नुपर्छ।
तीज पर्व केवल धार्मिक पर्व मात्र नभई पछिल्लो समयमा नारीहरूको भेटघाट, आत्मबल, अधिकारको अभिव्यक्ति र संस्कृतिको संरक्षणको माध्यमका रूपमा बिस्तार हुदै गएको छ । अहिलेको तिज पहिलेको तुलनामा धेरै रूपले परिवर्तन भएको छ । पहिले मुख्य रूपमा धार्मिक व्रत र शिव–पार्वतीको पूजा केन्द्रित भए पनि अहिले तिज सांस्कृतिक, सामाजिक र मनोरञ्जनात्मक चाडका रूपमा पनि फैलिएको गएकाे छ ।

